Breaking

नेकपा माओवादी र एमाले बिच तालमेल


काठमाडौँ — सुर्खेतको चौकुने गाउँपालिकामा नेपाली कांग्रेससँग गठबन्धन गरी अध्यक्ष जितेको नेकपा माओवादी केन्द्रले कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको छ। कार्यपालिकामा निर्वाचित हुनुपर्ने ६ जना सदस्यका लागि माओवादीले एमालेसँग सहकार्य गरी कांग्रेसलाई हराएको हो।

बुधबार भएको चुनावमा ४ जना माओवादी र २ जना एमालेबाट कार्यपालिका सदस्य निर्वाचित भएका छन्। एमालेसँग तालमेल गरी माओवादीले आफूले चार र एमालेबाट २ जना सदस्यलाई उम्मेदवार बनाएको थियो। एमालेबाट महिला सदस्यमा कमलादेवी विक र दलित वा अल्पसंख्यक सदस्यमा शंकरबहादुर कामी उम्मेदवार बनेका थिए।

माओवादीबाट महिला सदस्यमा अम्बि विक, पदमा देवी विश्वकर्मा र हजुरा कुमारी बिष्ट उम्मेदवार थिईन् भने दलित वा अल्पसंख्यक सदस्यमा उज्जीरे ढोली उम्मेदवार थिए। कांग्रेसबाट दलित वा अल्पसंख्यक सदस्यमा दिपक विक र अम्मरे कामी उम्मेदवार थिए।

महिला सदस्यमा अमृता बोहोरा, उज्जादेवी विक, पञ्चकली बुढा र राधिका विक उम्मेदवार थिए। यसअघिको स्थानीय तह निर्वाचनमा माओवादी र कांग्रेसबीच गठबन्धन गरी पालिका अध्यक्षमा माओवादीका खड्क बिक निर्वाचित भएका थिए। उपाध्यक्षमा कांग्रेसका नरबहादुर बान्तोला निर्वाचित भएका थिए। १० वडामध्ये चार वटामा नेपाली कांग्रेस, चार वटामा नेकपा एमाले र २ वटा वडामा माओवादीले अध्यक्ष जितेका थिए।