देश

१८ खर्बको बजेट कार्यान्वयन हुने सम्भावना नै छैन : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे


काठमाडौँ — नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको झण्डै १८ खर्बको बजेट कार्यान्वयन हुने सम्भावना नै नरहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले आगामी वर्ष चुनावी वर्ष समेत भएकाले जम्मा चार महिनामात्रै काम हुने अवस्थामा सरकारले विनियोजन गरेको बजेट खर्च हुनसक्ने सम्भावना नरहेको दावी गरे । ‘साउनदेखि बजेट कार्यान्वयनमा जान्छ । साउन(भदौ वर्षा लाग्छ । त्यसपछि चाडबाडको समय सुरु हुन्छ । त्यसलगत्तै मंसिरमा चुनाव हुन्छ । अनि काम गर्ने समय जम्मा जम्मी चार महिनामा १८ अर्व खर्च गर्नुहुन्छ सम्भव छ । पाण्डेले अर्थमन्त्रीलाई प्रश्न गरे ।

साथै उनले मुलुकको समस्या एकातिर र बजेट अर्कोतिर फर्केको भन्दै बजेटले मुलुकको समस्या थप गहिर्‍याउने र चर्काउने दावी गरे । संकट एकातिर छ, उपचार अर्कोतिर छ, बजेट अर्कोतिर फर्केको छ । यसकारण यो बजेटले समस्याको समाधान दिने होइन कि समस्यालाई गहिर्‍याउने छ, चर्काउने छ । अर्को बर्षदेखि समस्यामा चर्को छलफल हुनुपर्ने म देख्दैछु । यस्तो नहोस् उनले भने।

पाण्डेले बजेटमा रहेको भायवलिटी ग्याप फण्डिङ गम्भीर समस्या हुनसक्ने पनि बताए । भायवलिटी ग्याप फण्डिङ’ भनेको कुनै प्राइभेट सेक्टरले कुनै लगानी गर्यो । तर उसको लस भयो भने त्यो लस सरकारले पूर्ति गर्ने । जति लस हुन्छ त्यति हाल्दिने पाण्डेले प्रश्न गर्दै भने, ‘अव ठुलठुला परियोजनाहरुमा फेक ढंगले परियोजना स्वीकृत गरेर सवै पैसा सरकारसँग दावी गर्यो भने सरकार टाट पल्टिँदैन उनले त्यस्तो अवस्था आए सरकारले त्यसरी पैसा दिन नसक्ने बताए ।