समाचार

कबड्डी ४ प्रकरण : मिरुनाले मागिन् बौद्ध धर्मावलम्बीसँग माफी


काठमाडौँ — प्रदर्शनरत नेपाली चलचित्र ‘कबड्डी ४ को दर्शकसँग साक्षात्कार गर्ने क्रममा जेठ १५ गते सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको ‘अभद्र व्यवहार’ सम्बन्धी घटनामा फुर्पा तामाङले गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।

मंगलबार दुई पक्षबीचको छलफलपछि अभिनेत्री मगरले पनि ‘भाइ’ सम्झेर माफी दिएको जनाइएको छ ।

अभिनेत्री मगरले पनि आकस्मिक प्रतिक्रिया जनाउने क्रममा हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति माफी मागेकी छन् ।

“दुवै पक्षका अभिभावकहरू छलफलमा बसी आगामी दिनहहरूमा यस विषयलाई लिएर विवाद नगर्ने, एकअर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा साम्प्रदायिक द्वेष फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय तथा धार्मिक संघ संगठनहरूसमक्ष अपिल गर्दै राजी खुसीसाथ यस पत्रमा हस्ताक्षर गरि लियौँ दियौँ,” समझदारी पत्रमा उल्लेख गरिएको छ ।

समझदारी पत्रमा अभिनेत्री मिरुना मगर र फुर्पा तामाङसहित साक्षीहरू चलचित्र निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई, खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङसहितले हस्ताक्षर गरेका छन् ।