Breaking

नायिकाको थप्पडले निम्त्याएको तनाव, मिरुना र भिक्षुबीच शंकास्पद सहमति (भिडियोसहित)


काठमाडौँ — बुद्धको एउटा उपदेश छ, कसैले गालामा एक थप्पड हान्छ भने अर्काे गाला पनि थापिदेउ तर झगडा नगर ।
फुर्वा लामाले यो प्रकरणमा यस्तैगरेका छन् । उनले नायिकामाथि कुनियत राखेर आफुले गल्ती गरेकै कारण यसो गरेका हुन् वा उनी शालिन स्वभाव र धेरै बोल्न पनि नजान्ने भएर यसो गरेका हुन्, अथवा भीडसँग हडबडाएर यसो गरेका हुन् ।

त्यो अनुसन्धानबाट खुल्दै जाला । किनकि नायिका मगरको थप्पड खाइसकेपछि पनिउनी चुपचाप एउटा निर्धा बालक जस्तो देखिएका छन् । यहि विषयलाई अहिले उनी निर्दाेष रहेको अर्थमा समेत चर्चा गरिएको छ । फेरि चर्चा र यथार्थबीचको फरक मिल्न सक्छ भन्ने पनि छैन । तर नायिका मिरुना मगरले सार्वजनिकस्थलमा आफुमाथि दुव्र्यवहार भएको भन्दै थप्पड हानेको भिडियो यतिबेला निकै चर्चामा छ ।

घटना आइतबार दिउँसो करिब साढे २ बजे काठमाडौँको सिभिल मलमा भएको थियो । चलचित्र हेर्न गएका फ्यानहरुले नायिका मगरलाई घेरिरहेका थिए । उनीसँग सिल्फी खिच्ने, फोटो खिच्नेहरुको भीड थियो । त्यही बेला नायिका मगरमाथि कसैले पछाडीबाट अस्वभाविक तरिकाले छोएपछि उनी आक्रोशित बनेर थप्पड हानेकी थिइन ।

लगत्तै उनले ती व्यक्तिलाई माफी माग्न लगाइन् । सार्वजनिक रुपमै नायिका मगरले आफुलाई मात्रै होइन, त्यहाँ वरिपरि रहेका सबैसँग माफी माग्न लगाइन् । उनले आदेश दिएअनुसार नै लामाले सबैसँग माफी मागे । कान समाएर उठबस पनि गरे । जुन भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

सार्वजनिकस्थलमै अपमानित हुने गरि माफी मागिसकेपछि पनि नायिका मगरले किन प्रहरी बोलाइन् ? अहिले सामाजिक सञ्जालतिर यो प्रश्न निकै चर्चामा छ । नायिका मगरले यसको पनि जवाफ दिएकी छन् ।

घटनापछि पनि ती युवकले नायिकालाई छोएर आएँ भनेर हाँसिरहेको देखेपछि मात्रै फोन गरेर प्रहरीलाई बुझाएको हो । उनले आफुमाथि पटकपटक छुने र पछाडीको भागमा चिमोट्ने काम गरेको आरोप लगाएकी छन् । सामाजिक सञ्जालमा नायिका मगरविरुद्धै प्रतिक्रिया आउन थालेपछि आफुमाथि भएको घटनाको विवरण उनले यसरी सुनाएकी छन् ।

अहिले सार्वजनिक भइरहेका भिडियोमा लामाले नायिकामाथि कुनै अभद्र व्यवहार गरेको देखिएको छैन । कतिले घटनास्थलको सीसीटीभि फुटेज सार्वजनिक गरेर वा प्रहरीले त्यसलाई हेरेर दोषीमाथि कारबाही गर्नुपर्ने आवाज उठाइरहेका छन् । तर यो विषय यतिमै रोकिएको छैन । लामालाई नायिकाले फसाएको भन्दै हिजो दिउँसो चावहिलको केएल टावरमा अगाडी प्रदर्शन गरिएको छ । मुख्यतः बौद्ध धर्मसँग यो विषयलाई जोडिएपछि थप तनाव उत्पन्न भएको हो । एउटा लामा पोसाकमै रहेको भिक्षुलाई दुव्र्यवहारको आरोप लगाएर नायिकाले धर्ममाथि नै अपमान गरेको भन्दै भीड आक्रोशित बनेको थियो ।

अहिले समुदाय र जाति विशेषका आधारमा पनि घटना केन्द्रित भएको छ ।केल टावरमा रहेको एफकुवमा सिनेमा हलमै पुगेर बौद्ध धर्मालम्बीहरुले तोडफोड गरेका छन् । त्यहाँ टाँगिएको चलचित्रको ब्यानरसमेत च्यातेर फालिएको छ । पोष्टर जलाएर यसको विरोध गरिएको छ ।

मुख्य कुरा त केछ भने, अहिले यो विषयलाई जातियता र धर्मसँग जोडिएको छ । भिक्षुमाथि अनावश्यक आरोप लगाएको भन्दै नायिकाको विरोध भइरहेको छ । तर नायिका मगर आफैमा बुद्धिष्ट हुन् । बारम्बार आफुमाथि आपत्तिजनक तरिकाले छुने काम भएपछि थप्पड हान्दामात्रै उनी भिक्षु भएको थाहा पाएको नायिकाको भनाइ छ ।

अहिले घटनाका आरोपित लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले लामालाई रिहाइ गर्न निर्देशन दिएपछि ३ हजार धरौटीमा उनलाई रिहा गरिएको हो । तर उनीमाथि अनुसन्धान निरन्तर चलिरहनेछ । तर यी दुबै पक्षबीच आपसी छलफलमा सहमति भएको छ । आरोपी फुर्वा तामाङले गल्ती स्वीकार गरेका छन् भने नायिका मिरुना मगरले समेत भिक्षु लामा र समुदायप्रति असर परेको भन्दै क्षमयाचना गरेकी छन् ।

कुनै पनि व्यक्ति दुव्र्यवहार वा हिंसामा पर्नु आफैमा राम्रो होइन । महिलामाथि हुने दुव्र्यवहार त झनै सह्य हुनै सक्दैन । कुनै पनि महिलाले कुनै पनि बहानामा दुव्र्यवहार भोग्नु हुँदैन र सहनु पनि हुँदैन ।
आफुमाथि भएको दुव्र्यवहारको तत्काल प्रतिकार गर्नैपर्छ । पछिल्लो समय महिलामाथि भइरहेका दुव्र्यवहारले हाम्रो समाज कता जाँदैछ भन्ने प्रश्न पनि उठाएको छ । तर केही घटनाहरु महिलामाथि नै प्रश्न उठ्ने गरि बाहिरिएका छन् । यस्तै दुव्र्यवहार ब्यहोरेकी कबड्डी नायिका मिरुना मगरमाथिसमेत यस्ता प्रश्न उठीरहेका छन् । तर लामा भएकै कारण, वा सोझो सिधा देखिएकै कारण यस्तो घटना भएको थिएन भन्न पनि जायज नहोला ।


गल्ती गर्नेलाई कारबाही हुनैपर्छ,यदि लामाको नियत खराब देखिएमा कानुनले एक बर्ष जेलसम्मको सजाय गरेको छ ।
यदी लामाको नियत खराब थिएन र भीडभाडमा अकास्मात छुइन पुगेको हो भने नायिकामाथि पनि कारबाही हुनुपर्छ । किनकि सार्वजनिक रुपमै कसैको बेइज्जत गर्नु पनि अपराध हो । मानहानी, अपमान लगायतका धेरै कसुरुमा नायिकालाई सजाय हुनसक्छ । तर बाहिरी आवरण अनुसारकै मान्छे हुन्छ भन्ने पक्कै हुँदैन । दोषी उपर कारबाही हुनुपर्छ, चाहे त्यो लामो होस् वा नायिका । कानुन प्रक्रियामा सबै बरावर हुन्छन् । तर पछिल्लो समय हाम्रो समाजमा यस्ता किसिमका धेरै घटनाहरु भइरहेका जसले पक्कै राम्रो सन्देश दिएकोक छैन । हाम्रा चेलीहरु, छोरीहरु असुरक्षित बन्दै गएका छन् ।

पछिल्लोपटक सुन्दरी प्रतियोगिताका नाममा आयोजकले बलात्कार गरेको विषय ८ बर्षपछि सार्वजनिक भएको छ । त्यसलगत्तै अन्य धेरै युवतीहरुले आफु यौन हिंसामा परेको घटना सार्वजनिक गरेका छन् ।

अभिनेता पल शाह बलात्कार मुद्धामै कैद सजाय भोगिरहेका छन् । एक गायिकामाथि बलात्कार गरेको मुद्धामा मुछिएपछि उनलाई जेल चलान गरिएको हो ।सेन्ट लरेन्स कलेजका कोर्डिनेटर र शिक्षकबाटै हिंसा भएका भन्दै छात्राहरुले उजुरी दिएपछि अहिले पक्राउ गरेर अनुसन्धान चलिरहेको छ ।