Breaking

यू-१९ विश्वकप खेल्न जाने महिला क्रिकेट टोलीको बिदाइ


काठमाडौँ – आईसीसी यू-१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली टोलीलाई मंगलवार बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधवार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो ।

टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाइ गरेको छ । बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान कृतिका मरासिनीले शीर्ष टोली भएर विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ तयारी गरेको र लक्ष्यमा पुग्ने प्रतिक्रिया दिइन् ।

यसअघि क्यानले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । एक महिना लामो अभ्यास गरेको टोलीले राम्रो नतिजा निकाल्नेमा मुख्य प्रशिक्षक महेश रिजाल विश्वस्त छन् । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शीर्ष टोली बन्दै नेपाल विश्वकपमा छनोट हुने मुख्य प्रशिक्षक रिजालले बताए ।

मलेसियामा आयोजना हुने छनोटमा आयोजक मलेसियासहित नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाउँदै छन् । नेपालले पहिलो खेल कतारसँग जुन ३ मा खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा प्रतिस्पर्धा गर्ने तालिका छ भने भुटानविरुद्ध जुन ६ मा खेल्नेछ । त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ । शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछ ।