Breaking

एमाले भालु जस्तै हात चाट्ने अवस्थामा पुगेको सांसद महतको व्यङ्ग्य, भत्ता खाएर बस्न शीर्ष नेताहरुलाई पौडेलको सुझाव


काठमाडौँ — राष्ट्रिय र प्रतिनिधि सभामा अहिले बजेटमाथि सैद्धान्तिक छलफल जारी छ । सत्ता पक्षले बजेटको बचाउ गर्ने तथा प्रतिपक्षले खण्डन गर्ने संसदीय परिपाटी नै हो । यहिबीचमा संसदमा सांसदहरु आ–आफ्नै बुझाइअनुसार प्रस्तुत भइरहेका छन् । समसामयिक विषयमा खरो उत्रिने राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मंगलबार बजेट छलफलमा भाग लिँदै बजेटप्रति खरो रुपमा प्रस्तुत भईन ।

वृद्धभत्ता पाउने उमेर ६८ वर्ष बनाएकामा आपत्ति जनाएकी उनले व्यङ्ग कस्दै भनिन– शीर्ष नेताहरु भत्ता खाएर बस्नुस् । ६८ वर्षमा नै काम गर्न नसक्ने भन्ने हो भने प्रधानमन्त्रीसहित शीर्ष नेताहरु भत्ता खाएर बस्नुपर्ने बताएकी उनको यो प्रहार मुलुक आर्थिक संकटमा फसिरहेको बेलामा सरकारको देशलाई नै आर्थिक भार बढाउने गरि गरेको निर्णयप्रति केन्द्रीत थियो ।

सांसद योगेश भट्टराईले टिकटकमा भाईरल एउटा भिडियो शहारा लिँदै अर्थमन्त्री जनार्दन शर्मा माथि प्रश्न तेस्र्याए । कमिसन नआउने हुनाले शिक्षामा कम बजेट छुटिने गरेको मन्त्री शर्माको भिडियो प्रति संकेत गर्दै भट्टराईले गत वर्षको तुलनामा शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको उल्लेख गर्दै कमिशन नआउने भएर नै त्यसो गरिएको हो भन्दै आशंका व्यक्त गरे । अझ अघि बढ्दै उनले अर्थमन्त्रीलाई विगत सम्झाएका उनले थपे ब्रिफकेस तोडफोड नहुनु र संसदमा कुर्सी नभाँचिनुले नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको पुष्टि भएको छ ।

संसद् बैठकमा सामान्यतः सांसदले जनताका पिर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुने गजेन्द्र बहादुर बस्नेतको प्रस्तुती पनि निकै चोटिलो बन्ने गरेको छ । उनले शनिबार एक सांसद ताला र चाबी लिएर पुगेका थिए । जुम्ला– १ का सांसद महत मंगलबार भने प्रतिपक्षी एमालेप्रति व्यङ्गात्मक रुपमा खनिए । हिउदे याममा केहि खान नपाएको भालु विगतमा खाएको मह र मकैको सम्झना गर्दै आफ्नो हात चाट्ने गरेको उखान भन्दै उनले अहिले एमाले त्यहि अवस्थामा पुगेको बताए । एमालेलाई अहिले विरोधको कुनै विषय नभएर त्यहि भालुको अवस्थामा पुगेको उनको भनाई थियो ।

यता राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले पनि प्रतिपक्षीको वजेटप्रतिको धारणामा राम्रै जवाफ दिए । कहिले आफ्नै टोलीलाई कालो झण्डाको रुपमा प्रयोग गर्ने जस्ता कार्य समेत गरेका उनले मंगलबार भने बजेट पास नभए माननीय अध्यक्ष तथा विपक्षी दलका नेताहरुको तथा पिएसओकै तलव भक्ता पनि रोकिने हुनाले बजेट जसरी पनि पास हुने बताए । तर विपक्षीको धर्म निभाउन विरोधको सुचना जारी गरेको हुनसक्ने बताए ।

छलफलमा कसैले आफ्नो क्षेत्रमा बजेट नपुगेको भन्दै गुनासो पोखे भने कतिपयले गठबन्धन रहेमात्र बजेट कार्यान्वय हुने बताए । कतिपयले भने प्रसङ नजोडिने एमसीसीसम्म कै कुरा पनि गरे । अर्थात वजेट पूर्वकै छलफलमा पनि सम्बन्धित विषय भन्दा आरोप प्रत्यारोपमै व्यस्त देखिएकोमा वजेटको सिद्धान्तमाथिको छलफलमा पनि सत्ता पक्षका माननीय बजेटको बचाउ र विपक्ष आलोचनामै केन्द्रीत बने । बाँकि रहेको समय घुमाएर आफ्नै चिन्ता व्यक्त गर्न समय खर्च गरेका उनीहरुले शायद सिद्धान्तगत छलफल परै छुटेको थाहा पाएनन् ।