Breaking

तारा एयर दुर्घटनामा परेका सबैको शव फेला


काठमाडौँ — मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ।

दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी छ ।

‘दुर्घटनास्थलमा सबै शव फेला परेको छ । सोमबार १० शव काठमाडौँ लगियो । अब थप १२ शव आज काठमाडौँ पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा रहेका दुइटा शव कोवाङ झार्ने तयारी छ। मौसम खराब भएकोले केही ढिलाइ भएको जनाएको छ ।

दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए ।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो ।

सोमबार काठमाडौँ ल्याएका १० शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो । शवहरू पोष्टमर्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ ।