Breaking

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी गीता माझीको मृत्यु


काठमाडौँ — श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी चितवन खैरहनीकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ ।
घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको उनले बताए । ‘हिजो अपरेसनपछि पोष्टअपमा हुनुहुन्थ्यो । गएराति अचानक कार्डियाअरेष्ट भएपछि उहाँको मृत्यु भयो’, उनले भने ।

पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटना लगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गीताका दुई छोरी छन् । श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्‍ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ ।

उनको उपचारमा संलग्‍न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्‍गको चार तह च्यातिएको थियो । कम्मरको हड्‍डी भाँच्चिएको थियो ।

गीताका श्रीमान रामचन्द्र प्रहरीको हिरासतमा छन् । उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ ।

गीताका ३ छोरी छन् । उनी ज्याला मजदुरी गर्थिन् । रक्सी खाने पैसा नदिएको भनेर श्रीमान् रामचन्द्रले गीतालाई कुट्ने गरेको स्थानीय बताउँछन् ।