समाचार

गोसाइँकुण्डमा गंगा दशहरा मेला सुरु


काठमाडौँ — गंगा–दशहरा अन्तर्गत पवित्र तीर्थ स्थल रसुवाको गोसाइँकुण्ड यात्रा सुरु भएको छ ।

मंगलवार सुरू भएको गङ्गा–दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन निलाद्री पर्वतबाट गोसाइँकुण्डतर्फ लागेका छन् ।

ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन चल्ने गंगा दशहरा पर्व मान्न यो वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड तीर्थमा एकपटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहेको छ ।

यो पर्वमा नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवनका भक्तजन गोसाइकुण्ड पुग्ने स्थानीय समाजसेवी टंकप्रसाद आर्चायले बताए । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले धार्मिक यात्राको सुरक्षाका लागि व्यवस्था मिलाएको जानकारी दिए ।