काठमाडौँ — काठमाडौँ महानगरपालिकामा मेयर र उपमेयरसँगै ३२ वटै वडाका सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मेयरमा निर्वाचित बालेनले शपथसँगै पद भार ग्रहण गर्दै गर्दा महत्वपूर्ण निणर्य पनि गरे । वैशाख ३० को स्थानीय तह निर्वाचनमा स्वतन्त्रतर्फबाट उठी काठमाडौँको मेयर पदमा निर्वाचित भएका बालेन्द्र साह र उपमेयर सुनीता डंगोलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रिय सभामा मेयर र उपमेयरसँगै ३२ वटै वडाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुले शपथ लिए । निर्वाचित मेयर बालेनले नेपाली र नेपाल दुवै भाषमा शपथ लिएका थिए । उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ दिलाए । यता उपमेयर सुनीता डंगोलसहित अन्य निर्वाचित जनप्रतिनिधिलाई भने बालेनले नै शपथ खुवाएका थिए ।
बालेनले आफ्नो श्रीमतीसहित शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए । सधै देखिरहने भन्दा फरक पोशाकमा देखिएका बालेन समारोहमा भादगाँउले टोपी र दौरासुरुवालमा सजिएका थिए । तर, उनको लोकप्रिय चस्मा भने उही पुरानै थियो । नेपाल भाषामा शपथ ग्रहण गरेकी उपमेयर डंगोल पनि पहिले देखिने भन्दा केही फरक देखिइन् । डंगोलको हसिलो अनुहारको चमक आज केही फिका देखियो ।
केही हतास र निराश पनि । अन्य निर्वाचित जनप्रतिनिधिहरु अबीर,माला र खादामा सजिदा मेयर बालेनको निधार र घाटी भने खाली नै देखियो । काठमाडौँ महानगरको समस्या समाधान नभएसम्मा आफु यो सबैबाट टाढै रहने बताएका उनले महानगरबासीले गरेको पापको भागीदार सिस्डोलबासी हुनु परेको प्रतिक्रिया दिए । त्यहाँका मानिसहरु क्यान्सर र छालाको रोगले मरिरहँदा यहाँ हामीले शोक मनाउनु पर्ने उनले तर्क गरे ।
बालेनको पहिलो दिन शपथ ग्रहणमा मात्रै सीमित रहेन । सुरुदेखि नै दलको अल्पमतमा परेका उनले कसरी काम गर्छन् भन्ने आम मानिसको चासोको विषय थियो । मेयरमा उम्मेदावारीको घोषणा गरेदेखि नै तेर्सिदै आएको यो प्रश्नको जवाफ पनि उनले पदभार ग्रहण गर्दै गर्दाको पहिलो निर्णयबाटै दिएका छन् । अर्थात् उनले नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने निर्णय गरे । उनको यो निर्णय सोमबारबाटै कार्यन्वयनमा आएको छ । पदभार ग्रहणकै समयमा महानगरको प्रांगणमा केही फरक दृष्य पनि देखियो । यस अघिका मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पार्किङलाई जलमग्न अर्थात् ढलमग्न बनाएको विरोधमा हालका मेयरको ध्यानकर्षण गराए । पूर्वमेयर शाक्यको विरोध गर्दै उनीहरुले आगामी दिनमा मेयरसँग सहकार्यको अपेक्षा रहेको पनि बताए ।


प्रतिक्रिया