काठमाडौँ — काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएसँगै पहिलो बैठक बसिरहेको छ । नगर प्रमुख बालेन्द्र शाहको अध्यक्षमा पहिलो नगर कार्यपालिका बैठक बसिरहेको हो। बैठकमा महानगरका प्रमुख बालेन्द्र शाहले महानगरभित्र रहेका रेष्टुरेण्टमा रहेका शौचालयलाई सर्वसाधारणले सहज र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन् । कार्यपालिकाको जारी बैठकमा प्रस्ताव पेश गर्दै शाहले केही रेष्टुरेण्ट व्यवसायीहरुसँग अनौपचारिक छलफलका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाएको बताए ।
शाहको प्रस्ताव अनुसार महानगरको प्रस्तावमा सहमत रेष्टुरेण्टहरुमा शौचलय प्रयोग गर्न सकिने संकेत बोर्ड राखिनेछ । रेष्टुरेण्टमा अन्य सेवा नलिएको सर्वसाधारणले पनि शौचालय प्रयोग गर्न पाउने गरी व्यवस्था हुने शाहको भनाइ छ । उनले महानगरले सार्वजनिक स्थलमा शौचालय निर्माणको क्रमलाई पनि निरन्तरता दिने बताए । त्यस्तै मेयर साहले भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव पनि नगर कार्यपालिकामा राखेका छन् ।
बैठकमा साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ । नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने समते उनले बताएका छन् । मेयर साहले काठमाडौंको फोहोर व्यवस्थापनलाई एजेण्डा बनाएका छन् । उनले फोहोर मैला व्यवस्थापन नभएसम्म आफूले माला खादा नलगाउने घोषणासमेत गरेका छन् ।


प्रतिक्रिया