Breaking

सकियो सत्तारुढ गठबन्धनको बैठक , गठबन्धन दलहरुबीच सहकार्य जारी राख्ने निर्णय


काठमाडौँ — सत्तारुढ गठबन्धनले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको आसन्न निर्वाचनमा पनि तालमेल यथावत् राख्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले स्थानीय निर्वाचनको समिक्षा गर्दै कार्यपालिका र जिल्ला समन्वयनको निर्वाचनमा पनि गठबन्धन दलहरुबीच सहकार्य जारी राख्ने निर्णय गरेको हो ।

ती निर्वाचन गठबन्धन दलहरुबीच तालमेल सार्थक बनाउन प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै बैठकमा सरकारको परराष्ट्र सम्बन्धलाई लिएर प्रश्न उठेको छ । चुनावी समीक्षाका लागि सोमबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्धमा विचलन देखा परेको बताएका हुन् ।

सरकार भूराजनीतिक संवेदनशीलता नबुझी अघि बढेको र यसले देश दुर्घटनामा पर्ने उनले चेतावनी दिए । ‘भारतसँग राजनीतिक एजेण्डा थन्को लगायौं । अब लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दा नउठ्ने भयो, १९५० को सन्धि, ईपीजी, डुवानका मुद्दाहरु नउठाउने भयौं,’ बैठकका एक सहभागीका अनुसार श्रेष्ठले भने, ‘भारतले चाहेको आर्थिक मामिलाको सम्झौता मात्र हुने भयो । अमेरिकासँगको सम्बन्ध पनि त्यस्तै रहेको भन्दै उनले गम्भीर छलफल गर्नुपर्ने बताएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुले ‘छलफल गरौंला’ भन्ने जवाफ दिएका छन् ।