काठमाडौँ — उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले विजयी भएको छ । काँग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका छन् । बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले पराजित गरेका हुन् । बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा राउतले ११ हजार ८ सय ७३ मत मात्र पाए । यस्तै नेकपा एकीकृत समाजवादीका उमेदवार निवर्तमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे ।
२०५३ सालमा नगरपालिका बनेको त्रियुगामा काँग्रेस पहिलोपटक निर्वाचित भएको हो । यसअघि त्रियुगामा नेकपा एमालेले जित्दै आएको थियो । २०७४ को निर्वाचनमा पनि उमेदवार बलदेव चौधरीसँग बस्नेत ७२ मतान्तरले पराजित भएका थिए । ०७४ मा उपमेयर जितेको काँग्रेसले यसपटक भने गुमाएको छ । उपमेयरमा एमालेकी महेश्वरी राई विजयी भएकी छिन् । उनले काँग्रेसकी सरिता राई १ हजार ७ सय २२ मतान्तरले पराजित गरेकी हुन् ।


प्रतिक्रिया