Breaking

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्ने उल्लेख


काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताउनुभएको हो ।

उहाँले सरकार दृढतापूर्वक अगाडी बढ्ने बताउनुभयो । मन्त्री आलेले हेलिकप्टर र हवाइजहाजहरु युरोपबाट ‘सेकेन्डह्यान्ड’ मा किनेर नेपालमा प्रयोग गरिने गरेको बताउनुभयो । उहाँले पुरानो जहाज प्रयोग गरेर मानिसको जिवनको खेलवाड गरिएको भन्दै जहाजहरुको पुरै इन्जिनियरिङ सर्वे गरेर मात्रै प्रयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हेलिकप्टर, प्लेनहरु जम्मै सेकेन्डह्यान्ड आउँदो रैछ अधिकांश । युरोपमा काम नलाग्ने जहाजहरु यहाँ सेकन्डह्यान्ड, थर्ड ह्यान्डमा आउँदो रैछ । यसले गर्दाखेरी मानिसको जिवनमाथि खेलवाड गर्ने कामहरु पनि भइराखेको छ । क्यानका महानिर्देशक ज्यू हुनुहुन्छ म यहीबाट म निर्देशन दिन चाहान्छुकी यि सबै कुराहरु इन्जिनियरिङबाट पुरै यसको सर्वे हुनुपर्छ । त्यो आधारमा मात्रै अगाडी बढाउनका लागि म उहाँलाई भन्न चाहान्छु ।

समितिको निर्देशन स्टेट हुनुप¥यो । मन्त्रालयले अगाडी बढाउन नीति कार्यक्रममा आइसकेको छ । राष्ट्रिय योजना आयोगमा पनि एयरमार्क भइसकेको अवस्था छ । त्यसो भएको हुनाले मन्त्रालय पछाडी हट्दैन । हामी दृढतापूर्वक अगाडी बढ्छौँ । भोली सम्मानीत अदालतबाट आएको पूर्णपाठलाई मध्येनजर गरेर त्यसपछि फेरी हामी सरसल्लाह गरेर अगाडी बढ्ने नै छौँ ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताउनुभयो । उहाँले राज्यका कुनैपनि निकाय विकासको सहयोगी हुनुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणको काममा बाधा उत्पन्न हुने किसिमको कुनैपनि काम नहोस् भन्नेमा राज्यका सबै निकाय सजग हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले अदालतको फैसलाको पाठको आधारमा निर्माण कार्यलाई अगाडी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘अब यसको विकल्प छदै छैन । विकासका सहयोगी हुनुपर्छ राज्यका कुनैपनि निकाय । विकासको बाधक हुने होइन । न्यायपालिकाको निर्णय गर्ने तरिकाको बारेमा पनि गहन चिन्तन, मनन गर्नुपर्ने भएको छ । यसरी विकासको निम्ति सहयोगी हुनुपर्नेमा बाधा उत्पन्न हुने किसिमको कुनैपनि काम नहोस् भन्ने बारेमा हामीले सबै निकायलाई सजग बनाउनुपर्ने आवश्यकता छ । यसअर्थमा यसको कुनै अर्को विकल्प छैन । अदालतको फैसला हेरौँ र फैसलाको पाठको आधारमा यो निर्माण गर्ने कुरामा अगाडी बढ्नुपर्छ भन्ने मेरो धारणा छ ।

नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताउनुभयो । उहाँले विमानस्थल बनाउन नसके ठुलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । यसका लागि आवश्यक परेमा सर्वदलिय सहमती गरेर पनि काम गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपालको आर्थिक विकासमा निजगढ एयरपोर्टलाई बनाउन नसकेमा धेरै ठुलो मुल्य चुकाउनुपर्छ । सबै दल र जनप्रतिनिधिले गम्भिरताका साथ सोच्नुपर्छ । बनाउनका लागि सर्वदलीय रुपमा पारित गरेर भएपनि, कानूनमा संशोधन गर्नुपरेता पनि गरेर अगाडी जानुपर्छ समय खेर नफाली ।’

नेकपा(एमाले)का सांसद भीम रावलले कानून परिवर्तन गरेर भएपनि निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताउनुभयो । सर्वोच्च अदालतको आदेश वेवास्ता गरेर भएपनि निर्माण हुनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो – ‘कुनैपनि किसिमले कानून परिवर्तन गरेर भए कानून परिवर्तन, यदि अदालतले त्यसको चौकिल्ला निर्धारण गरेको छ भने त्यो चौकिल्लामा त्यो अलिकति मिलाएर बनाउँ न । त्यो हे¥याहे¥यै हुन्छ । लड्नु प¥यो भने लडौला मुद्दा । अदातले चाहीँ गर्नु हुने अनि हामीले राष्ट्रको हितमा कार्य चाल्नु नहुने हुन्छ ? अदालत के छुट्टै टापुमा बसेको हो कुनै ? राज्यको अंग होइन ? देश, जनताप्रति जिम्मेवार हुनुपर्दैन ? राष्ट्रको स्वार्थ कहाँ छ भन्नेकुरा हेर्नु पर्दैन ? त्यहाँ बस्ने व्यक्तिहरुले ? पर्छ । यो बन्नैपर्छ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले निजगढ विमानस्थल बन्न नसेकमा सय वर्ष पछाडी परिने टिप्पणी गर्नुभयो । उहाँले कानून परिवर्तन गरेर भएपनि सो आयोजनालाई छिट्टै सम्पन्न गर्नुपर्ने बताउनुभयो । निर्माण सम्पन्न गर्न नदिने सर्वोच्चको फैसला खारेज गर्ने दिशामा जानुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘नेपालको कानून नै परिवर्तन गरेर हामीले यो योजनालाई छिटोभन्दा छिटो सम्पन्नको दिशामा हामीले लानैपर्छ । यदी लगिएन भने हामी सय वर्ष पछाडी परिन्छ । यस्तो राष्ट्रघाती कदम विभिन्न राज्यका निकायबाट भइराखेको छ यो खेदजनक छ । आपत्तिजनक छ । यसलाई खारेज गर्ने दिशामा जानुपर्छ । उहाँले निजगढ विमानस्थल निर्माण हुन नदिनु आपत्तिजनक र खेदजनक रहेको बताउनुभयो ।