काठमाडौँ — पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रामकुमार दानीले आज बिहान ५ बजेदेखि जहाज खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको सेतोपाटीलाई बताए । आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०स्०७ बजेदेखि जहाज सम्पर्कविहीन छ ।
आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पारेका थिएनन् । डिएसपी दानीका अनुसार आज बिहान सेनाको हेलिकप्टरबाट पनि खोजी कार्य जारी छ। ‘मौसम सफा नहुँदा हेलिकप्टरबाट खोजी कार्यलाई निरन्तरता दिन कठिनाइ भइरहेको छ, कुहिरो लागेको छ । केहीबेरमा मौसम सफा होला,’ उनले भने ।
आज थप हेलिकप्टर मगाएर सम्पर्कविहीन जहाजको खोजी गरिने पनि उनले बताए। उनकाअनुसार कोवाङ आसपास धौलागिरि हिमाल रेन्जतर्फ खोजी कार्यलाई केन्द्रित गरिनेछ । जमिन र आकाशबाट खोजी कार्यलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘स्याटलायट इमेज मगाएर सम्भावित स्थानमा खोजी कार्य जारी छ । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए ।


प्रतिक्रिया