काठमाडौ — सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहमा आधारभुत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । आइतबार संसदमा आ.व.२०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमा आधारभुत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको हो । उहाँले जेष्ठ नागरिकलाई विशिष्टिकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाइने पनि बताउनुभयो ।
उहाँले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको पनि उल्लेख गर्नुभयो । त्यसैगरी मृगौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका व्यक्तिहरु, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्तिहरु र मेरुदण्ड पक्षघात विरामीहरुलाई औषधी उपचार खर्च बापत् मासिक ५ हजारका दरले उपलब्ध गराउन १ अर्ब ५० करोड रुपैयाँ रकम छुट्याएको उहाँले बताउनुभयो । मानव विकास सुचांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण खर्च उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ ।
अर्थमन्त्री शर्माले भन्नुभयो – ‘आगामी आ.व.मा ६५५ स्थानीय तहमा निर्माणाधिन आधारभुत अस्पतालको निर्माण सम्पन्न गरिनेछ । स्थानीय तहमा आधारभुत अस्पताल निर्माण कार्यकालागि रु. १० अर्ब विनियोजन गरेको छु । पुराना, जिर्ण अवस्थामा रहेका अस्पताल एवं स्वास्थ्य संस्थाका भवनहरु नयाँ मापदण्ड अनुसार पुर्ननिर्माणका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
जेष्ठ नागरिकलाई विशिष्टिकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाएको छु । सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छु । मृगौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका व्यक्तिहरु, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्तिहरु र मेरुदण्ड पक्षघात विरामीहरुलाई औषधी उपचार खर्च बापत् मासिक रु. ५ हजारका दरले उपलब्ध गराउन रु. १ अर्ब ५० करोड छुट्याएको छु ।
गर्भवती महिलाहरुलाई पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराइने छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाइने । मानव विकास सुचांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रु. पाँच हजार पोषण खर्च उपलब्ध गराउने व्यवस्था मिलाएको छु । लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् र मधेश प्रदेशको सप्तरीमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत् सुपर स्पेसलिटी सेवाहरुसहितको स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल स्थापना गर्ने कार्य अघि बढाइने छ ।
शिक्षक अस्पताल निर्माण कार्य अगाडी बढाइने छ । सिकलसेल एमोनिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गरिने छ । रुपन्देहीको सैनामैना, नवलपरासीपूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने छ । मृगौला रोगीहरुको निशुल्क मृगौला प्रत्यारोपणको व्यवस्था मिलाइने छ । सबै प्रादेशिक अस्पतालहरुमा डायलाइसिस सेवा उपलब्ध गराउन डायलाइसिस मेशिन खरिद गर्न रु. २० करोड विनियोजन गरेको छु । विपन्न मृगौला रोगी नागरिकहरुलाई निशुल्क मृगौला प्रत्यारोपण गर्न रु. १० करोड विनियोजन गरेको छु । उहाँले पूर्ण अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य सेवा सहितको पुर्नस्थापना केन्द्र स्थापना गरिने पनि बताउनुभयो ।


प्रतिक्रिया