Breaking

काठमाडौँको मेयरमा ५२ र उपमेयरमा २७ जनाको जमानत जफत


काठमाडौँ — काठमाडौँमा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका ५२ जनाको जमानत जफत भएको छ । काठमाडौँको प्रमुख पदमा बालेन साह, सिर्जना सिंह र केशव स्थापित बाहेकका सबै उम्मेदवारको जमानत जफत भएको हो ।

साह स्वतन्त्र, सिंह कांग्रेस र स्थापित एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । काठमाडौँको मेयर पदका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

काठमाडौँमा १ लाख ९० हजार ९ सय ६२ मत खसेको थियो। त्यसमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कानुनी प्रावधान अनुसार कुनै पनि उम्मेदवारको जमानत जोगिनका लागि जम्मा सदर मतको १० प्रतिशत मत ल्याउनपर्ने हुन्छ ।

प्रमुख पदमा खसेकोमध्ये १ लाख ५९ हजार ९ सय ६ मत सदर भएको आयोगले जनाएको छ । मेयरमा निर्वाचित भएका साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् । सिंहले ३८ हजार ३४१ मत र स्थापितले भने ३८ हजार ११७ मत प्राप्त गरेका छन् ।

सदर मतको साहले ३८.६३ प्रतिशत, सिंहले २३.९८ प्रतिशत र स्थापितले २३.८४ मत ल्याएर जमानत जोगाउन सफल भएका हुन् ।

उपमेयरमा २७ जनाको जमानत जफत
उपमेयरमा उम्मेदवारी दिएका ३० जनामध्ये २७ जनाको जमानत जफत भएको छ । उपमेयरमा खसेका मतमध्ये १ लाख २८ हजार ९७५ सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

उपमेयरमा निर्वाचित भएकी एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ मत प्राप्त गरेकी छिन् । उनले प्राप्त गरेको मत सदर मतको ५३.२० प्रतिशत हो ।

उपमेयरमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन् । उपमेयरमा खसेको मतको १८.४६ प्रतिशत हो ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठले पनि जमानत जोगाएकी छिन् । उनले १३ हजार ६९५ मत पाइन् जुन सदर मतको १०.६२ प्रतिशत हो । उनलाई निर्वाचन आयोगले आँखीझ्याल चुनाव चिन्ह दिएको थियो ।