Breaking

मतपरिणामको अंकगणित, एमाले कसरी पहिलो ? काँग्रेस–माओवादी मालामाल, एकीकृत समाजवादी र जसपालाई धोका


काठमाडौँ — स्थानीय तह निर्वाचन २०७९ बाट नेपाली काँग्रेस पहिलो दल बनेको छ । एकल र गठबन्धनकै बलमा काँग्रेस पहिलो बनिरहँदा शक्ति गुमाएर एमाले दोस्रोमा झरेको छ । माओवादी फेरि निर्णायक बनिरहँदा स्वतन्त्रको उपस्थितीलाई जब्बर मानिएको छ । गत स्थानीय तहको निर्वाचनमा ३५ प्रतिशत पालिका जितेको नेपाली कांग्रेस यसपटक ४४ प्रतिशत पु¥याएर पहिलो शक्ति बनेको छ ।०७४ मा कांग्रेसले १ सय ५ नगरपालिका र १ सय ६१ पालिकामा गरी २ सय ६६ प्रमुख जितेको थियो । यो भनेको ३५ प्रतिशत मात्रै हो ।

यसपटकको निर्वाचनमा कांग्रेसले ७ सय ५३मध्ये १ सय ३९ मेयर र १ सय ८८ अध्यक्ष गरी कुल ३ सय २८अर्थात ४४प्रतिशत पालिका प्रमुख जितेको छ ।यसमा गठबन्धनकै बलमा १२१ अर्थात (३७) प्रतिशत र एकल बलमा २०५ अर्थात (६३)प्रतिशत पालिकामा प्रमुख जितेको तथ्यांकले देखाउँछ ।२ प्रतिशतपालिका प्रमुख थपेर नेकपा माओवादी केन्द्रले १६ प्रतिशत पु¥याएको छ ।गत निर्वाचनमा १०६ पालिका प्रमुख जितेको माओवादीले यसपटकको निर्वाचनमा ४ सय १८ स्थानमा उम्मेदवारी दिएर १ सय २१ ठाउँमा जित हासिल गरेको छ ।

त्यसमध्ये आफ्नै बलबुतामा ५३ पालिकार गठबन्धनको लाभ उठाएर ६८ पालिका प्रमुख माओवादीले हात पारेको हो । तथापी माओवादी यो निर्वाचनमा समेत तेस्रो स्थानमै थन्किन बाध्य बन्यो । किनकि प्रमुख शक्तिबाट नेकपा एमाले दोस्रोमा कायम हुन आएको छ ।०७४ को निर्वाचनमा २ सय ९४ पालिका अर्थात ३९ प्रतिशत स्थानीय तहको नेतृत्व लिएको एमाले यसपटक २०५ अर्थात २७ प्रतिशतमा सीमित रहदैं शक्ति खुम्च्याउन बाध्य बनेको हो ।एमालेको तुलनामा कांग्रेसले १६ प्रतिशत बढी हैसियत बनाएको छ ।

अझै दुई पालिको मतपरिणाम आएको छैन । देशभर २ सय ९ पालिकामा पाँचदलीय गठबन्धन भएको थियो । तर तालमेलबाट नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले भने धोका पाएको निष्कर्ष निकालेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा अस्तित्वमै नरहेका जसपा र एकीकृत समाजवादी गठबन्धनमार्फत स्थापित हुन खोजिरहेका थिए ।जसपा बन्नु अघि फोरम र नयाँ शक्तिले अस्तित्वमा रहेका दलहरुले ३६ पालिका प्रमुख जितेका थिए । यसपटक जसपाले ६ स्थान घटेर ३० प्रमुख मात्रै जितेको छ ।

त्यसमा जसपाबाटै विभाजित लोसपाले १६ पालिका प्रमुख जितेको छ । समग्रमा जसपालाई गठबन्धनले लाभ दिएको छैन । एमालेबाट विभाजित नेकपा एकिकृत समाजवादीले भने यसपटक २० पालिका प्रमुख जितेको छ ।विभाजनका बेला १० प्रतिशतको हिस्सा ल्याएर आएको समाजवादीले यहाँ पनि लाभ नमिलेको तथ्यांकले देखाउँछ । तर जसपा र एकीकृत समाजवादीले एक÷एक महानगरको नेतृत्व गर्न पाउनुलाई भरपाईँका रुपमा बुझिएको छ । राप्रपासहितका दलले मत बढाएपनि सिट संख्यामा हैसियत बढाउन सकेनन् ।

राप्रपामा लिङ्देनको उभार देखिएपनि जम्मा चार सिटमा चित्त बुझाउनु परेको छ ।दलहरुलाई पन्छाएर हेर्दा काठमाडौंमा बालेन साहसहित १४ स्थानमा स्वतन्त्रहरुले नेतृत्व लिएका छन् ।यता सिट संख्यामा काँग्रेस पहिलो भएपनि लोकप्रिय मतका आधारले एमाले पहिलो बनेको देखिन्छ । तथापी नेताहरु त्यसको अर्थ नभएको रुपमा बुझिरहेका छन् । एमालेले सिट संख्या कम भए पनि लोकप्रिय मतमा सबैभन्दा अगाडी रहेको अर्थमा हर्षबढाइ गरिरहदा काँग्रेस नेताहरुले यसको खण्डन गरिरहेका छन् ।

लोकप्रिय मतका हिसावले प्रमुख तीन दलमध्ये नेकपा एमालेले ३८ लाख १ हजार ३४७ मत पाएको छ । पहिलो बनेको नेपाली काँग्रेसले ३७ लाख २४ हजार ८०९ मत पाएको छ ।जुन एमालेको भन्दा ७६ हजार ५३८ मत कम हो । यसपटकको निर्वाचनमा एमालेले ६ लाख २७ हजार ८ सय ५३ मत बढाएको छ । नेपाली काँग्रेसले ५ लाख ९६ हजार४२० मत बढाएको छ । नेकपा माओवादी केन्द्रले भने १३ लाख ३७ हजार १६३ मत ल्याएको छ ।

जुन एमालेभन्दा २४ लाख ६४ हजार १८४ मत कम हो । यसपटकको निर्वाचनमा माओवादीले आफ्नो अवस्थामा सुधार ल्याएपनि मात्र ३३ हजार ४४२ मत बढाएको छ । यद्यपी मत परिणामले माओवादी केन्द्रलाई पुनः एउटा महत्वपूर्ण खेलाडीका रुपमा स्थापित गरेको छ । माओवादी तेस्रो तथा निर्णायक शक्ति बन्नु भनेको मुलुकको शासकीय हेरफेरको डाडुपन्यु उसकै हातमा रहनु जस्तै हो । काँग्रेसतिर ढल्कीए, काँग्रेस पहिलो र एमालेतिर ढल्कीए एमाले पहिलो हुने अवस्था छ । यसले मुलुकको राजनीतिमा चलिआएको अस्थिरताको सिलसिला तत्कालै रोकिँदैन भन्ने सन्देश पनि दिएको छ ।