Breaking

आरोप–प्रत्यारोपको क्रममा यो हदसम्म प्रस्तुत भए सांसद्हरु


काठमाडौँ — संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्षको लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । यद्दपी छलफलमा सहभागी प्रमुख प्रतिपक्ष दलका सांसद्हरुले कार्यक्रमको चर्को विरोध गरेका थिए । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममाथि सांसद्हरुले आ आफ्नो धारणा राखेका छन् । छलफलमा बोल्दै संशोधन कर्ता डा. विमला राई पौड्यालले सैद्धान्तिक रुपमा नीति तथा कार्यक्रम धेरै लामो भएको बताइन् ।

उनले नीति तथा कार्यक्रममा बाटो चौंडा बनाउनेदेखि लिएर एयरपोर्ट बनाउने जस्ता साना कुराहरु जोड्न आवश्यक नरहेको बताइन् । पौड्यालले सरकारले एकातिर दोहोरिने प्रवृतिका संघसंस्थाहरुलाई खर्च कटाउनको लागि भएपनि हटाइनेछ भन्ने र अर्कोतिर बुँदा १२३ को दोस्रो खण्डमा सार्वजनिक नीतिको समग्र विश्लेषणका लागि राष्ट्रिय योजना आयोगमा नीति प्रयोगशाला स्थापना गरिनेछ भन्ने कुरा गरेर नीति तथा कार्यक्रममा दोधारे चरित्र देखाएको आरोप लगाइन् । उनले करिव ४ वर्षअघि नै नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन आदेशबाट राष्ट्रिय नीति अनुसन्धान परिषद् गठन भएको र एक वर्षअघि नै प्रतिनिधि सभामा त्यो विधेयक पठाइसकेपछि पनि सरकारले अर्को प्रयोगशाला निर्माण गर्छु भन्नु लज्जाको कुरा भएको बताइन् ।

पौड्यालले रासायनिक मललाई दिने सेवा सुविधा कटौती गरेर प्राङ्गरिक मललाई त्यो सेवा सुविधा दिनुपर्नै बताइन्। त्यस्तै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले कृषि लगायतका विभिन्न क्षेत्रमा सरकारले दिँदै आएको अनुदान टाठाबाठाहरुको हातमा मात्रै सिमित रहेको गुनासो गरे ।

त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम अन्योलग्रस्त रहेको बताए । उनले अहिलेको नीति तथा कार्यक्रमलाई कुहिरोको कागको संज्ञा दिँदै निजीकरणलाई प्राथमिकतामा राखेकोले अर्थतन्त्र गम्भीरतातर्फ गएको बताए । उनले नीति तथा कार्यक्रममा आर्थिक नीतिको स्पष्टता आवश्यक रहेको बताए । उनले सरकार निजगढ विमानस्थल बनाउनबाट भागिरहेको आरोपसमेत लगाए । त्यस्तै राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले सरकारले नेपालको अर्थ व्यवस्थालाई आफ्नो खुट्टामा उभ्याउने गरेर नीति तथा कार्यक्रम ल्याएको दाबी गरे । उनले पूर्व अर्थमन्त्री युवराज खतिवडा समेतले यो नीति र कार्यक्रमलाई स्वागत गरेको बताए ।

राष्ट्रिय सभा सदस्य देवले आजको आवश्यक्ता भनेको आफ्नो खुट्टामा नेपालको अर्थनीति कसरी आत्मनिर्भर बनाउने भन्ने रहेको बताए । उनले आयातलाई प्रतिस्थापन गर्ने उद्योगहरु नेपालमा खडा गर्न नसकेसम्म र कृषिलाई फोकस गरेर उत्पादन र उत्पादकत्व बढाउने गरी काम नगरेसम्म नेपालको अर्थतन्त्र आत्मनिर्भर बन्न नसक्ने दाबी गरे ।