काठमाडौँ — विभिन्न अड्कलबाजीकाबीच काठमाडौँको मेयरमा अन्ततः बालेन्द्र साह निर्वाचित भएका छन् । उनी निर्वाचित भएसँगै महानगरको मुहार फेरिनेमा महानगरबासीमा आशावादी देखिएका छन् । ठूला राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साह निर्वाचित भए । उनी मेयरमा निर्वाचित भएसँगै महानगरवासीहरु खुशी देखिएका छन् । दलका नेताहरुबाट आजित बनेका महानगरवासीहरुमा केही हदसम्म आशाको किरण जागेको छ । आफ्ना प्रतिष्पर्धीभन्दा झण्डै साढे २३ हजार मत बढी प्राप्त गरेर मेयर बनेका बालेनको समर्थनमा उत्रिएका समर्थकहरुको दृश्य हेर्न लायकै थियो ।
विना स्वार्थ उनको विजयमा खुशी साट्न उपस्थित समर्थकले राष्ट्रिय झण्डा र भाद् गाँउले टोपी लगाएर सफल कार्यकालको शुभकामना दिए । बालेनको समर्थनमा काठमाडौँ महानगरबासी मात्रै थिएनन् । दलहरुको काम र भाषणबाट अघाइसकेका आम नेपाली पनि थिए । विशेष गरि बालेनकै जितमा सामेल हुन युवाहरु देशका विभिन्न स्थानबाट काठमाडौं आएका छन् । विजय जुलुसमा सहभागि हुनकै लागि पोखराबाट काठमाडौँ आएका जीवन पौडेलले जितको खुसी यसरी साटे । मेयरमा निर्वाचित भएको घोषणा भइसकेपछि बालेनले काठमाडौँलाई अबको ५ वर्षमा विश्वकै सुन्दर शहर बनाउने घोषणा गरे ।
आफ्नो विजयलाई नयाँ कार्य थालनीको रुपमा लिएका उनले अबको कार्यकाल आफ्ना कार्ययोजनालाई पूर्णता दिने बताए । बालेनले गरेको प्रतिबद्धताप्रति उनका समर्थक पनि विश्वस्त देखिन्छन् । काठमाडौँलाई नमुना शहर बनाउन विकासभन्दा पनि व्यवस्थापनको आवश्यक रहेको उनीहरुको बुझाई छ । राजधानीलाई व्यवस्थित मात्र गर्दिने हो भने पनि विश्वको जुनसुकै शहरभन्दा पनि काठमाडौँ त्यसै उत्कृष्ट हुने उनीहरुको धारणा छ ।
यसअघिको चुनावमा जनताको घर दैलोमा सरकार पुग्ने आश्वासन बाढे पनि सर्वसाधारणले भने त्यसको अनुभूति गर्न सकेका थिएनन् । पुराना राजनीतिक पार्टीले आफ्नो सैद्धान्तिक धरातल छोडेकोले पनि मतदातालेदलका नेतालाई छोडी विकल्पमा बालेन रोजे । यता नेकपा एमालेबाट मेयरमा उठेका केशव स्थापितले मेयरमा निर्वाचित बालेनलाई शुभकामना दिएका छन् । काठमाडौँको विकास र समृद्धिसँगै बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग रहने भएपनि हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने स्थापितले बताए ।
महानगरबासीले मात्र नभई सारा देशले नै विश्वास गरेका बालेनको अवको यात्रा भने चुनौतीपूर्ण नै देखिन्छ । अब बन्ने नगरसभामा कांग्रेसको बहुमत छ । कांग्रेसले १९ वडामा प्रमुख पद जित्दा नेकपा एमालेले १२ र एकीकृत समाजवादीले एक वडामा जित हात पारेको छ । महानगरमा विभिन्न दलका नेताले जितेसँगै यिनीहरुलाई सन्तुल बनाएर लिएर जानु पर्ने जिम्मा बालेनका काँधमा आइपरेको छ ।


प्रतिक्रिया