Breaking

१५ मिनेटका लागि रोकिएको प्रतिनिधि सभाको बैठक डेढ घन्टा वितिसक्दा पनि सुरु हुन सकेन


काठमाडौँ — एमालेले अवरुद्ध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक डेढ घन्टा वितिसक्दा पनि सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिएको अभिव्यक्तिको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले प्रतिवाद गरेका थिए ।

त्यसपछि आफ्ना अध्यक्षलाई स्तरहीन गाली गरिएको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन् । नेपाल आयल निगम निजीकरण गर्न लागिएको, आधा कमिसन खाएको तथा आधा लिन बाँकी रहेको आधारहिन कुरा ओलीले गरेको भन्दै मन्त्री बडुले प्रतिवाद गरेका थिए ।

एमालेलाई आरोपको पुष्टि गर्न मन्त्री बडुले चुनौती दिएपछि बडुको विचारलाई रेकर्डबाट हटाउन प्रमुख प्रतिपक्ष दल एमालेले माग गरेको छ । सहमति गरि संसद चलाउनका लागि स्थगित गरिएको बैठक चल्न सकेको छैन । सभामुख, सत्ता पक्षका सांसद तथा एमालेका सांसदहरु बीच छलफल भइरहे पनि बडुको बोली रेकर्डबाट हटाउने मागमा सहमति हुन नसकेको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी दिइन् । आजको बैठकको नीति तथा कार्यक्रम माथिको छलफल र आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची थियो ।