काठमाडौँ — स्थानीय तह निर्वाचन अन्तर्गत ७५० पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ६ वटै महानगर सहित ७५० स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । जसअनुसार नेपाली काँग्रेले ३२७ पालिकामा जित हासिल गर्दै पहिलो शक्तिको रुपमा दर्ज भएको छ भने गत स्थानीय निर्वाचनमा पहिलो दल बन्न सफल नेकपा एमालेले २०५ पालिका जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ । नेकपा माओवादी केन्द्र १२१ पालिका जित्दै तेस्रो शक्ति बन्दा जनता समाजवादी पार्टीले ३० पालिका प्रमुख जित्दै चौथो शक्ति बन्न सफल भएको छ ।
त्यसैगरी नेकपा एकीकृत समाजवादी २०, लोकतान्त्रिक समाजवादी पार्टी १६ स्थानमा विजयी हुँदा स्वतन्त्रसहित अन्य साना दलहरु ३० स्थानीय तहमा विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पद गरी हालसम्म कुल ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । आयोगमा दर्ता भएका १४ वटा राजनीतिक दलले प्रमुख पद जितेर दलीय अस्तित्व कायम गरेका छन् ।


प्रतिक्रिया