Breaking

बालेनलाई शुभकामना दिंदै स्थापितले भने-सकारात्मक काममा सहयोग र कमजोरीमा निरन्तर खबरदारी


काठमाडौँ – काठमाडौँ महानगरपालिकाकका मेयरमा पराजित भएका एमाले उम्मेदवार केशव स्थापितले मेयरमा विजयी बालेन साहलाई शुभकामना दिएका छन् ।

उनले काठमाडौँको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने बताएका छन् । यद्यपि, हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने उनले बताएका छन् ।

‘काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु,’ विज्ञप्ति निकालेर स्थापितले भनेका छन्, ‘पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु ।’

उनले भनेका छन्, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’

काठमाडौँको विकास र समृद्धिप्रतिको आकाङ्क्षा अलिकति पनि नधरमराएको उनले बताएका छन् । स्थापितले उपमेयरमा विजयी सुनिता डंगोलसहित अन्य जनप्रतिनिधिलाई पनि शुभाकामना दिँदै सबैको साझा जनप्रतिनिधि भएर सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।