Breaking

बागमती प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै


काठमाडौँ — बागमती प्रदेशको दशौं अर्थात बजेट अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ ।

प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनले जेठ १६ गते प्रदेशसभामा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते हुने समेत बताए । प्रदेशसभा सचिवालय हेटौंडामा बिहिबार बसेको कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको प्रदेशसभा उनको भनाइ छ ।

जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने खड्काले बताए। उनको अनुसार सोही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने तथा जेठ १७ गते त्यसमाथि छलफल हुने कार्यसूची तय भएको छ । जेठ १८ गते छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ ।

बैठकमा संसद् सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको पाँच अध्यादेश पेस हुने कार्यक्रम छ । देशसभामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने छन् ।