Breaking

निजगढ विमानस्थल निर्माण रोक्न गरिएको फैसला दुर्भाग्यपूर्ण : एमाले


काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमालेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ ।

सर्वोच्चको परमादेशलगत्तै एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत निजगढमा विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला हरेक दृष्टिकोणबाट गलत रहेको उल्लेख गरेका छन् ।

कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको पोखरेको टिप्पणी छ । यस निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाईसमेत डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने पोखरेको तर्क छ । महासचिव पोखरेलले गम्भीर र जिम्मेवार बन्न अपिल गरेका छन् ।

त्यसैगरी पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी सर्वोच्चले गरेको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।

‘यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको सम्भावनामाथि पनि आँच पुर्‍याएको छ,’ उनले भनेका छन्, ‘आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला’ ।

त्यस्तै, पूर्वपर्यटनमन्त्रीसमेत रहेका एमाले सचिव योगेश भट्टराईले विमानस्थलका बारेमा सर्बोच्चको निर्णय अत्यन्तै घातक र प्रतिगामी रहेको टिप्पणी गरेका छन् ।

उनले फैसलालाई नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यसमार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेपका रुपमा व्याख्या गरेका छन् । उनले निर्णय सच्याउन न्यायाधीशहरुलाई अनुरोध गरेका छन् ।