Breaking

तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण विजयी


काठमाडौँ – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् ।

एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत पाएर विजयी हुंँदा चापागाईले २३ हजार ६३१ मत पाए ।

मेयरमा निर्वाचित खाँण २०७४ को चुनावमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए । अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टींसँग गठबन्धन गरेको कांग्रेसले यसपटक माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो ।

उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतान्तरले पराजित गरेकी हुन् । चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुँदा पाण्डेले ११ हजार ५४६ मत पाए ।

१७ वटा वडा रहेको तिलोत्तमामा नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ । ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७३६ मत खसेको थियो ।