Breaking

देशका ६ मध्ये ५ महानगरपालिकाको मेयरमा सत्तारुढ पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी


काठमाडौँ — देशका ६ मध्ये ५ महानगरपालिकाको मेयरमा सत्तारुढ पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख प्रतिपक्षी दल एमाले ६ वटै महानगरपालिकामा पछि परेको छ । मतगणना जारी रहेको काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । गन्न बाँकी मत भन्दा निकटतम प्रतिद्धन्दी कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठसँग बालेको मतान्तर बढी भएको छ । यस्तै, देशकै ठूलो महानगरमहानगरपालिका पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभएको छ ।

एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै आचार्य निर्वाचित हुनुभएको हो । यस्तै, भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी हुनुभएको छ ।एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । यस्तै, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

उहाँले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गर्नुभएको हो । यस्तै, वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित हुनुभएको हो । यस्तै, विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्दै कोइराला निर्वाचित हुनुभएको हो ।