Breaking

मन्किपक्स भाईरसबाट सचेत रहन आग्रह


काठमाडौँ — गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत गराउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ । विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सतर्क रहन सुझाव दिइएको छ ।

विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका लगायत १४ भन्दा बढी देशका नागरिकमा मन्किपक्सका संक्रमित भेटिएको छ । पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केसहरू भेटिएका छन् । पोर्चुगल, स्वीडेन, नेदरल्याण्ड्स, अस्ट्रिया, बेल्जियममा पनि संक्रमितहरु भेटिएका छन् ।

डा सापकोटाले मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने बताए । ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट सुरु हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिदै जान्छ । त्यसपछि रेसाहरु पानी भरिएको फोकामा परिणात हुन्छन् ।

मंकिपक्सको इन्क्युबेशन अवधि सामान्यतया ७ – १४ दिन हुन्छ। मंकिपक्सको लागि अहिलेसम्म कुनै विशेष उपचार छैन । तर मंकिपक्सका धेरै केसहरू हल्का र आत्मसीमित हुन्छन् । यो समस्या दुईदेखि चार हप्ताभित्र समाधान हुन सक्छ । तर बुढेसकाल भएका व्यक्तिहरू र इम्युनोलोजिकल रूपमा कमजोर भएकाहरूलाई मंकिपक्सले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ । जसले मृत्यु समेत हुन सक्छ ।