Breaking

जित पक्का भएसंगै सर्मथकहरुलाई विजय जुलुस नगर्न बालेन्द्र शाहको अपिल


काठमाडौँ — काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह बालेनले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् ।

आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेज मार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरुलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौँ नधाउन अपिल गरेका हुन् । जीत–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला उनले बक्तव्यमा भनेका छन्, अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।

उनले लेखेका छन्, स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ ।

यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुँदैन । निर्वाचित हुनेले अरु प्रतिस्पर्धीको तुलनामा ज्याद मत ल्याएपनि बहुमत नल्याएको भन्दै उनले आफूलाई मतदान नगर्नेहरुको भावनामा समेत चोट नपर्नेगरी काम गर्ने प्रतिवद्धता गरेका छन् । उनले महानगरको उन्नतिका लागि सबैसँग सहकार्यको आग्रह गरेका छन् ।