Breaking

वीरगञ्जको मेयरमा राजेशमान निर्वाचित


काठमाडौँ — वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । ३२ वटै वडाका मतगणना सकिंदा राजेशमानले ४६ हजार २१५ मत पाउँदा विजयले २३ हजार ६७१ मतमात्रै पाए ।

वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता रहेकोमा ९३ हजार ७ सय ८२ मत खसेको थियो ।

अघिल्लो पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा उठेका राजेशमान सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९, ३९३ मत ल्याउँदा राजेशमान १२, १६५ मत ल्याएर तेस्रो भइका थिए ।

यसपटक दुवैले दल बदलेर चुनावी मैदानमा आएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा पुगेका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार बनेका हुन् ।

राजेशमान एमालेमा जाने लगभग निश्चित भइसकेको थियो तर एमालले विजयलाई पार्टी प्रवेश गराएपछि उनी जसपामा गए । विजय कांग्रेसमा जान चाहेपनि वास्था नभएपछि एमालेमा गएर मेयर लडेका हुन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । उपमेयरमा आलमले ३० हजार ७८ मत पाएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ९५६८ मतमात्रै पाएका छन् । राप्रपाकी चिना जैसवालले ५९८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३९०९ मत ल्याएका छन् ।