Breaking

बलात्कार आरोपी मनोज पाण्डेलाई मानव बेचविखनको मुद्दा


काठमाडौँ – आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका क्रममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध म्याद थपको तयारी भएको छ ।

आज म्याद थपका लागि उनलाई अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ थियो । उनीविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी गरिएको छ ।

बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले मानव बेचविखन तथा ओसारपोसार मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा प्रतियोगिता सकिएपछि सक्सेस पार्टी दिनेभन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो ।

तत्कालीन समयमा आफ्नो उमेर १६ वर्ष रहेको बताउने युवतीले पटक–पटक आफूमाथि ‘ब्ल्याकमेल’ गरेर बलात्कार गरेको आरोप भिडियोमार्फत लगाएकी छन् । उनले सामाजिक सञ्जाल टिकटकमा विभिन्न भिडियो क्लिप सार्वजनिक गर्दै सौन्दर्य प्रतियोगिताका क्रममा आफूमाथि बलात्कार भएको बताएकी हुन् । घटनाको अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरिरहेको छ ।