काठमाडौँ — काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणासँगै चर्चामा आएका बालेन्द्र साह हाल झन् चर्चामा छन् । गठबन्धन र एमालेका नेतालाई भारी मतले पछि पारेपछि उनको चर्चा थप चुलिएको हो । अहिले त झन् उनीसँगै उनले लागाउँने चस्माको पनि चर्चा उत्तिकै छ । पेशाले स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह अर्थात् बालेनले अहिले जे गरे पनि समाचार बन्ने गरेको छ । उनको लवाई खुवाई देखि उनीसँग जोडेका हरेक कुराको समाचार बनिरहँदा आज त उनको दाईलाई पुत्रीलाभ हुँदा सामाजिक सञ्जालमा उनलाई नै पुत्रीलाभ भएको भ्रामक समाचार नै सम्प्रेसित भयो । त्यस्तै अहिले उनीसँगै चर्चामा छ उनले लगाउने यो चस्मा ।
जसको नाम नै बालेन चस्मा भएको छ । हाल बजारमा यसको चर्चा निकै छ । साधारणतय अन्य चस्माले जे काम गर्छ यो चस्माको काम पनि त्यही नै हो । तर, बजारमा अहिले यो चस्मा पाउन भने मुस्किल छ । अनलाइन सपिङ कम्पनीहरूले पनि बालेन चस्माको मिम बनाएर बिक्रीका लागि प्रचारप्रसार गरेको थुप्रै भेट्न सकिन्छ । मतगणना स्थल राष्ट्रिय सभागृहमा बालेनका समर्थकले लगाउने एउटा नारा नै छ – ‘बालेन दाइको चस्मा, भ्रष्टाचारीको भस्म’ । खासमा यो चस्माको कुनै ब्राण्ड भने छैन । तर, काठमाडौँ महानगरपालिकाको मेयरमा अत्याधिक मतान्तरले अग्रता बनाईरहेका बालेनले हरेक क्षेत्रमा यो चस्माको प्रयोग गरेकै कारण यसको चर्चा चुलिएको हो ।
चाइनाबाट आउने यो चस्मा विन्टेच मोडलको हो । बालेनले लगाएपछि भने यसलाई बालेन चस्मा भन्ने गरिएको छ । पछिल्लो समय बजारमा यस्तो चस्मा खोज्न आउनेको संख्या ह्वात्तै बढेको छ । चस्माको माग बढेकै कारण स्टक पनि अभाव हुन थालिसकेको छ । यो चस्मा बजारमा पहिलेनै आए पनि व्यापारमा वृद्धि भने अहिले मात्रै भएको हो । यो चस्माको माग अहिले यति बढेको छ कि त्यसलाई पुर्ति गर्न व्यापारीहरुलाई भ्याइनभ्याई छ । विशेष गरी युवा जमातमा लोकप्रिय बनेको चस्मा खोज्न दैनिक २०/२५ जना आउने गरेका छन् ।
कति त पसलमा चस्मा नभएर फर्किन पनि बाध्य भएका छन् ।सेलिब्रेटी नायक नायिकाहरुको फेसन सेन्सलाई फलो गर्ने ट्रेण्ड त पुरानै हो । तर राजनीतिज्ञको फेसन सेन्सलाई फलो गर्ने प्रचलन विश्वव्यापी रुपमा पनि कम नै भएको पाइन्छ । नेपालमा त यस्तो कुरा सबैले नोटिस गर्ने गरी ठूलो जमातले फलो गरेको सायद यो नै पहिलो पटक होला ।


प्रतिक्रिया