Breaking

संविधानसभा सदस्य चौलागाईं गाउँपालिका अध्यक्षमा निर्वाचित


काठमाडौँ — तत्कालीन संविधानसभा सदस्य रेणुका चौलागाईं चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका जितराम लामालाई ७ सय ६५ मतले पछि पार्दै गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार चौलागाईं अध्यक्षमा निर्वाचित भएकी हुन् ।

रेणुकाले ६ हजार २ सय २८ मत प्राप्त गरिन् भने एमालेका लामाले ५ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सत्ता गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका शेरबहादुर लामा विजयी भएका छन् । लामाले ७ हजार २ सय १९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी बबिता खरेल (गौतम) ले ३ हजार ५ सय ४९ मत प्राप्त गरिन् ।

संविधानसभा सदस्यसमेत रहेकी चौलागाईंले जनतासँग प्रत्यक्ष जोडिने कार्यकारी भूमिकामा रहनको लागि स्थानीय तहमा उम्मेदवार बनेको र जनताले अनुमोदन गरेको प्रतिक्रिया दिइन् । २०५१ सालमा नै विद्यार्थी संगठनमा आवद्ध भएकी चौलागाईं प्रहरीले धरपकड गर्न थालेपछि २०५४ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी थिइन् ।

यसपटक चौरीदेउराली गाउँपालिकाका बहुमत वडाहरूमा पनि माओवादी केन्द्रले नै जितेको छ । ९ वडामध्ये माओवादीले वडा नं ३, ४, ५, ८, ९, कांग्रेसले वडा नं १, ६ र ७ र एमालेले वडा नं २ मा जित हासिल गरेको छ ।