Breaking

गगनको क्षेत्रमा एमालेको क्लिन स्वीप !


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जितेको निर्वाचन क्षेत्र काठमाडौँ-४ मा नेकपा (एमाले) ले जितेको छ । उनको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिका ८ नम्बर वडा र काठमाडौँ महानगरपालिका ४ वटा वडा पर्दछन् ।

तीमध्ये बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामा एमालेले जितेको छ । काठमाडौँ महानगरपालिकाको परिणाम प्रकाशित भएको एउटा वडा पनि एमालेले जितेको छ । तीन वटा वडामा गणना जारी छ । एमालेले बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र काठमाडौँको १ नम्बर वडा जितेको छ ।

एमालेका स्थायी समिति सदस्य डा। राजन भट्टराईको निर्वाचन क्षेत्र पनि यही हो । यसपटकको निर्वाचनमा उनी आफैंले कमाण्ड गरेका थिए । भट्टराई यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार थापासँगै पराजित भएका थिए । कांग्रेसका थापा र भट्टराईले यो क्षेत्रलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।

बूढानीलकण्ठका कपनसहितका क्षेत्रमा वर्षौंदेखि सडक निर्माण संघीय सांसद नहुँदा थापाले पनि आलोचना खेप्दै आएका छन् । बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वडा एमालेले जितिसकेको छ ।

मेयरमा १४ हजार २५० मत ल्याएर मिठाराम अधिकारी विजयी भएका छन् । त्यहाँ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११ हजार ५१२ मतमा सीमित भए ।

उपमेयरमा १४ हजार ३१४ मतसहित एमालेकै अनिता लामा विजयी भइन् । उपमेयरको प्रतिद्वन्द्वी पनि नेपाली कांग्रेसकै रमिला वाग्ले थिइन्। उनले ११ हजार ९७२ मत ल्याइन् ।