Breaking

सीके राउतको गृहपालिकामा लोसपा विजयी, जनमत पार्टी चौथो नम्बरमा


काठमाडौँ — जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको गृहपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जित हात पारेको छ । राउतको घर रहेको सप्तरीको महादेवा गाउँपालिकामा लोसपाले अध्यक्ष र उपाध्यक्ष जितेको हो ।

लोसपाका उम्मेदवार सुनिलकुमार मण्डल ४ हजार ५७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपककुमार यादवले २ हजार २०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो नम्बरमा जसपाका शिवनन्दन यादव १ हजार ७४२ मत र चौथो नम्बरमा रहेका जनमत पार्टीका उम्मेदवार जगनाथ मण्डलले १ हजार ३४१ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा पनि लोसपाकै अर्चनाकुमारी यादव ३ हजार ८६७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुष्माकुमार मण्डलले २ हजार २५३ मत ल्याएकी छन् ।

जसपाकी राखी कुमारी यादव १ हजार ६९४ मत र जनमतकी ललिताकुमारी मण्डलले १ हजार ५८५ मत मात्र प्राप्त गरेकी छन् । अहिलेसम्म जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा मात्रै प्रमुख जितेको छ ।