Breaking

चुनावको मत परिणाम माओवादीका लागि उत्साहजनक: पुन


काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पालिका तह चुनावको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नु भएको छ । बुधबार नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पालिका तह चुनवाको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभएको हो । उहाँले चुनावी परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनु भयो ।

नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरु मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताउनुभयो । नेता पुनले पालिका तह चुनावमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताउनुभयो । केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उहाँको भनाइ छ ।

गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताउनुभयो । उहाँले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने पनि उल्लेख गर्नुभयो ।