Breaking

स्वतन्त्र उम्मेदवार रुम्दाली मानेभन्ज्याङको अध्यक्षमा निर्वाचित


काठमाडौँ — ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका आश्राचन राई निर्वाचित भएका छन् ।
रुम्दालीले ५ हजार २१ र राईले ४ हजार ७ सय ५० मत प्राप्त गरे । रुम्दालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत ल्याए । अध्यक्षमा निर्वाचित स्वतन्त्र उम्मेदवार रुम्दालीलाई कांग्रेसको समर्थन थियो ।

त्यस्तै, उपाध्यक्षमा निर्वाचित राईले ४ हजार ७५० मत पाएका छन् । सो पदमा एमालेको समर्थनमा जसपाका दीपेन्द्र रुम्दालीले २ हजार ७ सय ७७ मत पाए ।

अध्यक्षमा निर्वाचित रुम्दाली कांग्रेसका तरुण दलका पूर्वजिल्ला अध्यक्ष समेत हुन् । २०७४ को प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएवापत रुम्दाली पार्टीबाट कारबाहीमा परेका थिए। कारबाही फुकुवा नभएका कारण उनलाई रुख चिन्हबाट चुनाव लड्न समस्या भएको थियो । उनले धारा चिन्हबाट चुनाव जितेका हुन् ।