Breaking

वालेन सहितका स्वतन्त्रले दिँदैछन दलका उम्मेद्वारलाई धक्का, निरन्तर बढाउदै मतान्तर


काठमाडौँ — मतगणनाको दोश्रो दिन देशभरका स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ । केहि स्थानमा प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदै गर्दा केहि स्थानमा भने अन्तिम परिणाम समेत आएको छ । स्थानीय तहको अन्तिम चुनावी नतिजा आउने क्रम बढेसँगै राजनीतिक दलका प्रतिनिधि मात्र होइन, स्वतन्त्र र बागी उम्मेदवारहरूसमेत विजयी हुन थालेका छन् भने महत्वपूर्ण पालिकामा पनि स्वतन्त्रको अग्रता कायमै छ । जसले राजनीतिक दलहरुलाई भने झस्काईदिएको छ ।

देशकै सर्वाधिक चासो रहेको मध्ये एक महानगरपालिका काठमडौँमा स्वतन्त्रबाट लौरो चुनावी चिन्ह लिएर चुनावी मैदानमा होमिएका वालेन्द्र शाहको अग्रता कायम छ । परम्परागत दुई प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेद्धार भन्दा दोब्बर मतले अघि बढेका उनले निरन्तर मतअन्तर बढाईरहेका छन । यसअघि राम्रै मत ल्याएपनि टक्कर नै दिन अवस्थामा भने उनी नरहेको विश्लेष्णकावीच उनको अग्रताले तरंगनै ल्याईदिएको छ । गत निर्वाचनमा रन्जु दर्शनाको अवस्थामै वालेन समेटिने धेरैको आकलनका बीच सुरुबाटै उनले लिएको अग्रताले धेरैलाई एक पटक सोच्न बाध्य पारेको छ ।

यद्यपी १० हजार मत समेत नगनिएको अहिलेको अवस्थामै यसै भन्ने सकिने अवस्था भने छैन । कैलालीको धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेद्धार गोपाल हमालको अग्रता कायम छ । सुदूरपश्चिमका चर्चित व्यवसायी हमाल २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नृपबहादुर वडसँग झिनो मतान्तरले पराजित भएका थिए । यता जनकपुर महानगरपालिका पनि स्वतन्त्र उम्मेद्धार मनोज शाहले अग्रता लिएका छन् ।

त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिका, सुनसरीको धरान उपमहानगर र काभ्रेको धुलिखेल नगरपालिका समेत स्वतन्त्र उम्मेद्धारहरुको राम्रो उपस्थिती देखिएको छ । यसरी काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता तथा दह्रो उपस्थितीले राजनीतिक दलहरुलाई भने सोच्न बाध्य बनाएको छ । यो लहर नेपाली जनताले खोजेको रुपान्तरणको उपज भएको जानकारहरु बताउछन । यसरी स्वतन्त्र उम्मेद्धारी दिएर कडा टक्कर दिईरहेका कतिपय भने वागी उम्मेद्धारका रुपमा समेत अघि आएकाहरु छन ।

जसले राजनीतिक दलहरुले उम्मेद्धारी छनोटमा प्रक्रियामा समेत प्रश्न उब्जाईदिएको छ । पार्टीका उम्मेद्वार छनौट गर्दा दलहरुले हेरेको नातावाद, कृपावाद, परिवारवाद जस्ता पुरानै रोगबाट मतदाता तथा कार्यकर्ता समेत आजित हुन थालेका संकेत पनि प्रारम्भिक मतपरिणाम अभिव्यक्त भएको छ । हिजोको जस्तो दलहरुले गर्ने जस्तोसुकै निर्णयमा मतदाताले आँखा चिम्लिएर समर्थन जनाइदिन्छन् भन्ने अवस्थाको विस्तारै अन्त हुन थालेको छ भने विगतको ईतिहास देखाएर मात्रै चुनाव जित्ने दल तथा नेताहरको पुरातन सोचमा एकपटक गतिलो प्रहार भएको छ ।

विश्लेषकहरुले समेत बालेन साहको सुरुवाती अग्रता कायमै भएर जित हासिल गरेमा उनको जित नेपाली राजनीतिमा ‘ट्रेन्ड सेटर’ नै बन्ने दाबी गरिरहेका छन् । यहिबीचमा वैकल्पिक भनिएका दलहरुमा भने वैचारिक स्खलन देखिएको छ । ५ वर्ष अगाडि राजधानीको चुनावी गणित प्रभावित पार्ने शक्ति देखाएको राजनीतिक शक्ति यसपटक भने अत्यन्त धरासायी देखिएको छ । जसले केवल नामको मात्र विकल्पलाई जनताले विश्वास गर्ने छैनन् भन्ने समेत प्रष्ट पारेको छ ।

राजनीतिक अवसरबाट युवाहरुलाई पाखा लगाउने तथा युवाहरुको राजनीतिक तथा व्यवस्थापकीय क्षमतामा प्रश्न उठाउनेहरुलाई समेत स्वतन्त्र उम्मेद्वारहरुको जितले गतिलो पाठ पढाउने देखिन्छ । अबको राजनिती पञ्चायतकालीन संघर्ष, दुःख कष्ट, संघर्षको मात्र दुहाई दिएर नचल्ने शासन सञ्चालन गर्न दुरदर्शी दृष्टिकोण, योजना व्यवस्थापन र परिमार्जन गर्ने कौशलयुक्त नेतृत्व जनताले खोजेको संकेत समेत यसले उजागर गरेका छ । अझ स्थानीय तहजस्तो कार्यान्वयन मुखि सरकारमा भने अव केवल गफ र विरासतले मात्र नजितिने प्रष्ट पारेको छ ।