Breaking

यस पटकको निर्वाचन सफल कि विफल ? के भन्छन् विज्ञहरु ?


केही पालिकामा बाहेक स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न भएको छ । शुक्रवार मतदान प्रक्रिया सकिएसँगै देशैभर चुनावको मतपरिणाम आउने क्रम जारी छ । देशैभर एकसाथ सम्पन्न स्थानीय तहको निर्वाचन कति सफल रह्यो त ?

कतै प्रचण्ड गर्मी त कतै मौसमी झरी, दुवैको वेवास्ता गर्दै आम मतदाताले मतदान गरे । आशा र उत्साहका साथ आम मतदाता मतदान प्रतिmयामा सहभागी भए । राज्यको नजरअन्दाजमा परेको लिपुलेक क्षेत्र तिङकर र छाङगरुमा समेत मतदान सफल भयो ।

देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा ६४ प्रतिशत मात्र मतदाता सहभागी भए । तर निर्वाचन आयोग आफैले आँकलन गरेको भन्दा कम मत खसेको आयोगले जनाएको छ । नेपालमा स्थानीय निर्वाचन स्थानीय नेतृत्वकाबीच भन्दा पार्टीगत प्रतिस्पर्धा हावी छ ।

राजनीति दुई धूवमा विभाजित हुँदा त्यसको प्रत्यक्ष असर निर्वाचनमा पनि देखिएको छ । अन्य कारणले भन्दा पनि दलहरुकै आपसी विवाद र झडपका कारण १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित गर्नुप¥यो । राजनीतिक दलका नेता कार्यकर्ताले मच्चाएको अराजकताका कारण निर्वाचन त्यति सुरक्षित र भएरहित बन्न सकेन ।

मानव अधिकारका दृष्टिकोणले निर्वाचन सुरक्षित रहेन, परिवेक्षकहरुको नजरमा निर्वाचन अपेक्षाकृतरुपमा अनुमान गरिएको भन्दा फरक तर सापेक्षित रुपमा शान्तिपूर्ण ढंगले नै निर्वाचन सम्पन्न भएको विश्लेषण छ । राजनीतिक रुपमा विवाद नभएका सबै पालिकाहरुमा सहज ढंगले मतदान सम्पन्न भयो भने धमाधम मत परिणाम आउने क्रम जारी छ ।

मुलुकमा जारी राजनीतिक गतिरोधका कारण निर्वाचन नै हुने नहुने अन्योल र आशंकाबीच स्थानीय तह निर्वाचन सम्पन्न भयो । सिमित साधन स्रोतकाबीच देशभर एक साथ सम्पन्न निर्वाचन धेरै हदसम्म सफल नै भएको पुर्व प्रशासकहरु बताउँछन । संविधान जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचन हो ।

निर्वाचन हुने नहुने अन्योल र आशंकाबीच निर्वाचन कार्य सम्पन्न भएको छ । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यो सवालमा मुलुक सफल भएको छ तथापी निर्वाचनमा खसेको मतले भने धेरैको ध्यान आकृष्ट गराएको छ ।