देश

बर्दिबास नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारको अग्रता


काठमाडौँ — नेकपा माओवादी केन्द्रको पकड मानिने महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता बढाएका छन् । कांग्रेसले कारबाही गरेपछि स्वतन्त्र उम्मेदवार बनेका प्रलहादकुमार क्षेत्रीले ३४५ मतसहित अग्रता फराकिलो बनाएका छन् । तर कांग्रेसबाट उम्मेदवार रहेका चिरञ्जीवी हमालले भने १० मत मात्रै पाएका छन् । हमाल गृहमन्त्री बालकृण खाँण निकट नेता हुन् । क्षेत्रीलाई नगर कार्य समितिको सिफारिसमा प्रदेश कार्य समितिले टिकट दिएको थियो ।

तर पार्टी केन्द्रले भने हमाललाई टिकट दियो । पार्टीले टिकट नदिएपछि २०७४ मा पनि मेयरका उम्मेदवार रहेका क्षेत्रीले बागी उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मतदान गर्ने यो नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार भने तेस्रो स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले १५६ मत ल्याएका छन् । दोस्रोमा नेकपा एमालेका टेकबहादुर बलम्पाकीले मत ल्याएका छन् । उनले २५६ मत सहित कांग्रेसका बागी उम्मेदवार क्षेत्रीलाई पछ्याइरहेका छन् । अघिल्लोपटक यो नगरपालिकामा माओवादी केन्द्रका विदुरकुमार कार्की मेयरमा निर्वाचित भएका थिए । बर्दिबासमा यसपटक कुनै दलको गठबन्धन छैन ।