Breaking

मतदान स्थल रणभूमि बन्यो, ठाउँ–ठाउँमा हवाई फायर, कतै उम्मेद्वार नै कुटिए


काठमाडौँ — देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपनि केही स्थानमा भने झडप, ठाउँठाउँमा हवाई फायर, स्थिति नियन्त्रणमा नआएको ठाउँमा मतदानको नयाँ मिति तोकियो । स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भए । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तियो । स्थिति नियन्त्रणमा नआएको स्थानहरुमा मतदानको नयाँ मिति तोकिएको छ ।

संविधान जारी भएपछि दोस्रो पटक शुक्रबार स्थानीय तहको निर्वाचन सम्पन्न भयो । अधिकांस स्थानमा शान्तिपूर्ण रुपमा निर्वाचन भए पनि केहि स्थानमा भने मतदान केन्द्र रणभूमि बनेका छन् । कतै उम्मेरदवार नै कुटिएका छन् । कतै झडप भएको छ । स्थानीय तह निर्वाचनका क्रममा शुक्रवार ६७ ठाउँमा झडप भएको छ । झडप भएको मध्ये ५३ ठाउँमा पुनः मतदान भएको छ भने १४ वटा मतदान स्थगन भएको छ ।

दोलखा, रामेछाप, रुकुमपश्चिम, धनुषा, पर्सा, डोल्पा, गोरखालगायतका जिल्लाहरूमा धेरै झडप भएका छन् । प्रहरीले घटना नियन्त्रण लिनका लागि देशभरमा १०० राउण्डभन्दा धेरै हवाई फायर गरेको छ । झडपका क्रममा २ दर्जनभन्दा धेरै घाइते भएका छन् । नेपाली कांग्रेसका कार्यकर्ताले तनहुँमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट गरेका छन् ।

त्यस्तै, स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर, त्यस्तै कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ । त्यस्तै बाजुराको बुढीनन्दा नपामा हवाइ फायर भएको छ ।

दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडपहरु भएका छन् ।बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान भयो । दुबै पक्षका एक एक जना घाइते भएका छन् । रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर भएको छ । सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको थियो ।

त्यस्तै, काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ ।
यता सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनावपूर्ण बन्यो ।

बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ । दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको थियो । दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झडप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । हुम्लाको अदानचुली मतदान केन्द्रमा ढुंगा हानाहान भएको छ । सो क्रममा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ । श्रीमतीको नाममा एक व्यक्तिले भोट हाल्न पाउनु पर्ने अडान लिएपछि अदानचुली गाउँपालिका–४ मा रहेको मतदान केन्द्रमा विवाद भएको थियो ।

ढुंगा हानाहान हुँदा दुई जना घाइते भएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड भएको छ । हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएपछि जेष्ठ १ गतेका लागि मतदानको मिति तोकिएको छ । यस पटकको स्थानीय तहको निर्वाचनमा कुनै दलगत हिंसात्मक घटना नभएपनि निर्वाचनमा सहभागि भएका मुख्य दलका कार्यकर्ताहरु नै झडपमा उत्रिए ।