Breaking

गन्तव्यमा हिडेका यात्रु बिचमै अलपत्र, नियम उल्लंघन गर्नेलाई चार घण्टा सडकमै उभ्याईयो


काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि देशैभर यातायातका साधनहरु सञ्चालनमा रोक लगायो । निर्वाचन आयोगबाट पास लिएका बोहकका सवारी साधनहरु गुड्न पाएनन् । नियमनका लागि सडकमा खटिएका ट्राफिक प्रहरीले सयौँ सवारी चालकलाई कारवाही गरेका छन् । सधै व्यस्त रहने राजधानीको सडक शुक्रबार भने सुनसान रहयो । अत्याधिक सवारी चापले कोलाहाल हुने काठमाडौँ आज भने शान्त रहयो । २०७४ को संविधान जारी भईसकेपछिको दोस्रो स्थानीय निर्वाचनमा प्रवेश पास पाएका बाहेक अन्य सवारी साधनलाई सञ्चालनमा रोक लगाएपछि देशैभरका सडकहरु सुनसान रहयो ।

स्थानीय तहको निर्वाचन भइरहदा सवारी चाप निकै कम देखियो । काठमाडौँमा अत्यावश्यक सवारी पास लिएका बाहेक अन्य गाडीहरु गुड्न पाएनन् । सवारी साधन गुड्न नपाइनेबारे पहिले नै जानकारी गराए पनि केहीले जानकारी नभएकै कारण आफुले सवारी साधन प्रयोग गरेको बताइरहेका थिए । सरकारको नियम उल्लंघन गरेर चलाएका सवारी चालकलाई काठमाडौँ ट्राफिकले कडा चेकजाँच गरेर रोक्ने काम गरेका थिए । यसरी सरकारको नियम उल्लंघन गर्नेहरु गन्तव्यको बिच बाटोमा नै रोकिन बाध्य भए ।

कारवाहीमा पर्ने केहीले साच्चिकै समस्यामा परेर अत्यावश्य काम कै लागि बाहिर निस्किन परेको बताए । कारवाहीमा परेको यात्रुहरु ट्राफिक प्रहरीबाट छुट्ने आशमा ३÷४ घण्टासम्म कुरेर बसेका थिए । नियम उल्लंघन गरि कारवाहीमा परेका सवारी साधन मतदानको अवधि सकिएपछि भने सवारी धनीलाई नै बुझाइएको छ । एम्बुलेन्स, खानेपानी, दमकल, दुध, तरकारी बोक्ने सवारी साधन, दुरसञ्चार, शवबहान, बिद्युत्को गाडी जस्ता अत्यावश्यक सेवा दिनेलाई भने ट्राफिक प्रहरीले निर्वाध सञ्चालन गर्न दिएको थियो । यसरी कारवाहीमा पर्ने दुई पाङग्रे सवारीधान १३ सय भन्दा बढि र चारपाङग्रे सवारी साधन पनि झण्डै १३ सयको संख्यामा कारवाहीमा परेका छन् ।