Breaking

आज देशभर मतदान हुँदै


काठमाडौँ — स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको लागि आज देशभर मतदान हुँदैछ । देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा अहिले केहीबेरमा सुरु हुने मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । स्थानीय निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ जना अन्य मतदाता रहेका छन् ।

मतदानबाट ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदसय गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन् । चुनावी मैदानमा उत्रिएका १ लाख ४५ हजार उम्मेदवारमध्ये ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडामा नयाँ जनप्रतिनिधि छानिने छन् ।