Breaking

यस्ता अवस्थामा मत खसाल्न बञ्चित हुने


काठमाडौँ — आज शुक्रबार देशभर एकसाथ स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मादक पदार्थ सेवन गरेर मतदान गर्न जानेलाई मतदानस्थलमा प्रवेश नदिने जनाएको छ । यसअनुसार यदि मादक पदार्थ सेवन गरेर मतदाता गए मत खसाल्न बञ्चित हुने देखिएको छ । स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै आयोगले मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि निर्वाचन अधिकृतलाई प्रवेश गर्न नदिन निर्देशन दिएको हो ।

यस्तै आयोगले मतदानस्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनाइने कुनै वस्तु लैजान नपाइने जनाएको छ । आयोगले यस्ता कार्य गरेमा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले जनाएको छ ।