देश

म विरुद्ध दुष्प्रचार भयो: बालेन शाह


काठमाडौँ — काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले मौन अवधिमा आफूविरुद्ध दुष्प्रचार भएको भन्दै खण्डन गरेका छन् । मंगलबार राति १२ बजेदेखि लागु भएको मौन अवधिमा मौन रहेका शाहले आफूविरुद्ध दुष्प्रचार भएपछि बिहीबार फेसबुकमार्फत खण्डन गरेका हुन् । ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरु फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ,’ उनले भनेका छन्, ‘हामी स्वतन्त्र छौं ।

शाहले मौन अवधिपूर्व मतदाताहरुको ुघरदैलोमा प्रवेशु गर्ने र मतदाताहरुको नै समर्थन लिनेदिने बाहेक अरु कुनै किसिमका व्यवहारहरु नगरेको प्रष्ट्याएका छन् । निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ उम्मेदवारहरुले आफ्ना मतदातालाई भन्ने जति भनिसक्ने र मतदाताहरु स्वयंले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने भएको उल्लेख गर्दै शाहले यसरी सहि उम्मेदवारलाई मतदान गर्न सकिने बताएका छन् ।

लोकतन्त्रको यो उत्तम तरिका भएको उनको भनाइ छ । तर, यहि समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक भएको र मतदाताहरुमाथिको अन्याय पनि भएको शाहले उल्लेख गरेका छन् । यो मतदाताहरुलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज भएको उनको भनाइ छ । यस्ता हल्ला र हल्ला फैलाउने तत्वहरुप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरु सजग रहन शाहले अपिल गरेका छन् ।