विदेश

चीनमा टेकअफ हुन लाग्दा रनवेबाहिर गएको जहाजमा लाग्यो आगो


काठमाडौँ — चीनमा तिब्बत एयरलाइन्सको एउटा जहाजमा बिहीबार आगो लागेको छ । दक्षिण पश्चिमी सहर चोङकिङको विमानस्थलबाट बिहीबार बिहान एयरबस ए ३१९ जहाजमा टेकअफ गर्न लाग्दा समस्या आएको थियो । समस्या देखिएपछि चालकले जहाजलाई टेकअफ हुनबाट रोकेका थिए । स्थानीय समयअनुसार बिहान आठ बजे जहाजमा आगलागी भएको चोङकिङ जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थललाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ । जहाज रनवेबाट बाहिर निस्किएपछि आगलागी भएको थियो ।

जहाजमा ११३ यात्रु र नौ जना चालक दलका सदस्य थिए । चीनको नागरिक उड्डयन प्रशासनले ३६ जनालाई सामान्य चोटपटक लागेको र उपचारका लागि स्थानीय अस्पताल लगिएको बताएको छ । तिब्बत एयरलाइन्स ल्हासामा आधारित क्षेत्रीय एयरलाइन्स हो । एयरफिल्ट डट नेटका अनुसार यो एयरलाइन्समा २८ ए ३१९ सहित ३९ वटा विमान छन् । चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटना भएको दुई महिना नपुग्दै यो घटना भएको हो । चाइना इस्टर्नको बोइङ ७३७(८०० जहाज मार्च २१ मा दुर्घटना भएको थियो । एजेन्सी