देश

प्रहरी नियन्त्रणबाट मुक्त भए बास्तोला


काठमाडौँ — नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिए । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

बास्तोला सहित उनका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहा गरिएको इप्रका भालुबाङका प्रहरी निरीक्षक शाहले बताए । प्रहरी समक्ष बास्तोताले आफ्नो पार्टीले चुनाव बहिस्कार गर्ने कुनै नीति नभएका समेत बताएको प्रहरी निरीक्षक शाहले बताए । ‘निर्वाचन र बुटवलमा भएको बम विस्फोटको घटनाबारे सोधपुछ गरेका थियौं,’ उनले भने, ‘बम विस्फोटको घटनामा उहाँहरुको संलग्नता भएको देखिनएन र निर्वाचन बहिष्कारको नीति नभएको खुलेपछि जिम्मा जमानीमा छोडेका छौं । बास्तोला पक्राउ परेलगत्तै नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै चुनाव बहिस्कार गर्ने नीति नभएको जानकारी दिएका थिए ।