Breaking

रूकुम पश्चिममा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप


काठमाडौँ — रूकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच फेरि झडप भएको छ । मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको हो । उक्त झडपमा परि पाँच जना घाईते भएका छन् । घाईते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन् । डिल्लीको टाउको र बाँया हातमा चोट लागेको छ भने डायमनको खुट्टामा चोट छ। बुढा र घर्तीको टाउकोमा चोट छ ।

घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले सेतोपाटीलाई जानकारी दिए । यसैबीच पैसा बाँडेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका एक उम्मेदवारसहित दुई जनालाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिका १० खोलागाउँबाट बुधबार राति प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगातलाई पक्राउ गरेको डिएसपी सोतीले जानकारी दिए । उनीहरुको साथबाट तीन थान खुकुरीसमेत बरामद भएको छ । प्रहरीले नियन्त्रणमा लिनुअघि माओवादी र कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको थियो ।