Breaking

निर्वाचन आयोगको मतदान तयारी अस्तव्यस्त, व्यवस्थापन गर्न नसक्दा जिल्लाहरुमा खटिएका कर्मचारी अलमलमा


काठमाडौँ — निर्वाचन आयोगको मतदान तयारी अस्तव्यस्त देखिएको छ । कर्मचारी व्यवस्थापन गर्न नसक्दा जिल्लाहरुमा खटिएका कर्मचारी अलमलमा परेका छन् । स्थानीय तह निर्वाचनको लागि व्यवस्थापन मिलाउन नसक्दा कास्कीमा कर्मचारीहरुको भीड लागेको छ । कर्मचारीहरु स्थानीय तहको निर्वाचनका लागि चाहिने सामग्री लिने क्रममा कर्मचारी कम भएकाले व्यवस्थापन गर्न नसकिएको कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । उनले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानमा खटिन शुरु गरेको पनि बताए ।

बुधवारसम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने जनाइएको छ । निर्वाचनका लागि खटिएका कर्मचारीहरुले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सील, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेको पनि उनले जानकारी गराए । निर्वाचन सामग्री लिनका लागि पोखराको मुस्ताङ चोकस्थित जिल्ला निर्वाचन कार्यालय र शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीको दिनभर भीड लागेको थियो ।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गर्न नजानेको गुनासो गरे । सानो पालिकामा पनि ८ जना कर्मचारी र ठूला महानगरपालिकामा पनि बराबर नै कर्मचारी पठाउँदा काम व्यवस्थापन राम्रो हुन नसकेको उनको आरोप छ । त्यस्तै प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिव २० हजार जना कर्मचारी परिचालित भएको जानकारी गराए । उनले प्रदेशका कुल १ हजार २ सय ५३ सय मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएको जानकारी दिए ।

गण्डकीमा पोखरा महानगरपालिकासहित २६ नगरपालिका, ५८ गाउँपालिका, ७ सय ५९ वडा रहेका छन् । गण्डकी प्रदेशमा करिव १८ लाख मतदाता रहेका छन् । कास्कीमा पोखरा महानगरसहित रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिका छन् । पोखरा महानगरभित्र ३३ वडा छन् । कास्कीमा ७२ वडा र ५ पालिकामा ३ सय ७० जना जनप्रतिनिधि चुनिनेछन् । ५ स्थानीय तह रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् ।

त्यस्तै १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । पोखरा महानगरपालिकाको मेयरमा मात्र २८ जनाको उम्मेदवारी छ । उपमेयरमा ११ जनाले मनोनयन दर्ता गराएका छन् । २०७४ सालमा भएको स्थानीय चुनावमा पोखराको मेयरमा १६ जनाको उम्मेदवारी परेको थियो ।