देश

रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार


काठमाडौँ — रोल्पामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई पक्राउ गरेको छ । बाटो ढुकेर कांग्रेस कार्यकर्ताहरूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले गंगादेब गाउँपालिका वडा नम्बर ५ सिमखोलाका २४ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएको हो ।

उनलाई सल्यानको बागचौरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनालगत्तै उनी फरार थिए । उनी रोशन ग्यारेजमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । वैशाख २६ गते बेलुकी गंगादेब गाउँपालिका वडा नम्बर ५ कुइन्यौंटा डाँडोमा चुनाव प्रचारप्रसार गरी फर्कंदै गरेका तरूण दलका कार्यकर्तामाथि माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणबाट तरण दलका कार्यकर्ता ३० वर्षका मानबहादुर बुढा र २० वर्षीय कमल बुढा गम्भीर घाइते भएका थिए ।

उनीहरुको ढाड लगायत शरीरको विभिन्न भागमो गहिरो चोट लागेको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार घटनामा संलग्न रहेका एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ । यो घटनामा माओवादीका पाँच जना कार्यकर्ता संलग्न रहेको प्रहरीको अनुमान छ। अरूको खोजी भइरहेको छ ।